७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दलितको अन्याय सहने बुता अब समाप्त हुनुपर्छ


130
Shares

सन्जिव कार्की

आदर्श मानवता, आदर्श राज्य, आदर्श नैतिकता, आदर्श व्यबहार र आदर्श अनुशासन एका देशका कथा हुन । आजको आवश्यकता आधारभूत मानवीयता र सामान्य नैतिकता र इमानको हो । दु:खद स्थिति त्यो सामान्य चिज पनि दुर्लभ र संकटग्रस्त छ । इमान नैतिकता र अनुशासन डढेलाे लागे जत्तिकै भएको छ । बरु वनमा डढेलाे लागेपछि हराभरा र हरियाली छाउँछ तर मानवीय पक्षमा आगजनी हुँदा त्यो सदाकालको लागि मरेतुल्य हुन जान्छ । हाम्रो समाजमा अहिले सम्म पनि मानवीयताको खडेरि परेको छ । जुन खडेरी हजारौं वर्ष देखि पर्दै आएको भए पनि आजको उन्नत चेतना र आधुनिक विज्ञान सम्मत समाजको लागि यो असाध्यै नसुहाउने विषय हो । लाजमर्दो स्थिति हो जब दलन उत्पीडन  र किनाराकृत गराइएका मान्छेहरु आफू माथीको अन्याय र विभेद बिरुद्ध बोल्न लेख्न र प्रतिकार गर्न आक्रोश पोख्छन् तब हाम्रो समाजको बनावटी सद्भाव र मिलेको समाजमा उत्शृखल पन भित्रिएको समाजको सद्भाव खलल भएको आरोप लाग्न पुग्छ । दलितले बोल्ने बित्तिकै सद्भाव खलबलिने ? मलाई अन्याय भयो म माथी विभेद भयो भन्ने बित्तिकै सामाजिक द्वन्द निम्तिने कस्तो सामजिक सम्रचनाको जोडाइ हो ? कुन रसायनको जोडाइको कारण अन्याय पर्दा मलाई अन्याय भयो भन्दा समाजको सु-व्यवस्थामा खलल पुग्छ । के आज पनि मत्स्य न्याय  र जंगली सिंह राज नै कायम हुने अवस्था र अचेतना  कायम छ ? 

समाजशास्त्रीय कोणबाट नियाल्दा आफूमा परेको मर्काको विरुद्ध बोल्नु लेख्नु र प्रतिवाद गर्नु समाज विज्ञानको नियम र समाजको गतिशीलता भित्र पर्छ ।  तर केही बुज्रुक भनाउदाहरु नै उत्पीडित बोल्न थाल्दा अनर्थ हुने कुतर्क गर्छन् । हजारौं वर्ष देखिको दलन अब पनि सहनु नै पर्छ । समाज सुधार बिस्तारै हुन्छ छुवाछूत बिस्तारै हटछ भनेर आफ्नो निष्कर्ष सुनाउछन् भने प्रेम गरेको बहानामा हत्या हुँदा र सार्वजनिक धारो पँधेरो कुवा छुँदा ज्यान मर्ने सम्मको घटना बारम्बार दोहोरिदा पनि आँखा चिम्म गरेर मौनता साँध्छ्न । कति दर्दनाक स्थिति छ दलितको ? दलित भएको अनुभुति गरेर र दलित मारिदाको पिडा बोध गर्ने मानवीय संवेदनशीलता छ हामी कथित उच्च जातसँग ?जातीय श्रेष्ठता जन्म सिद्द अहंकार , उसै ठूलो हुनुको घमण्ड पालेर  एक वर्ग समुदायले अर्को वर्ग समुदायप्रति सँधै ज्यादती गर्यो । पिडा दियो जलन दियो मान्छेको मर्यादा दिएन । अत अब पनि वागी नहुनु किन ? खप्नु कतिन्जेल ? म बारम्बार भन्छु जात योग्यता र अयोग्यता दुवै किमार्थ होइन र बनाउनु हुदैन । जातले क्षमताको मापन गर्दैन । समाजमा जातको मापदण्ड र वैज्ञानिक आधारको बारेमा प्रसस्त बहस र सार्थक निचोड आवश्यक देखिएको छ ।

आजको यूग जन्म श्रेष्ठता होइन कर्म अर्थात काम श्रेष्ठताको यूगको रूपमा परिचित छ । दलितहरु पनि दलन र जलन सहेर नै बस्नु नि ? किन खप्न नसकेको होला अपमान र पीडा ? किन मन लागेको होला मान्छे बन्न ? परापूर्व देखि चली आएको छुवाछूत आज किन मेटाउन पर्यो । ६० लाख मान्छे, मान्छे बन्न नपाएर गणतन्त्र आउन रोकिएन ? कम्युनिस्ट पार्टीले दुई तिहाइ मत ल्याउन रोकिएन , तब किन हटाउनु पर्यो छुवाछूत ? किन दीपा नेपाली , करुणा विक र रुपा सुनार लगायत ६० लाख अछूतलाई खाँचो पर्यो आत्मसम्मान र मर्यादा ? छुन नहुने मान्छेको नाथे ज्यान मारिदा किन दुखी हुनु पर्यो राज्य ? सत्ताले दिएको दयाको त्यान्द्रो र थोपो भिख भए नपुग्ने किन ? दलितको मान्छे बन्ने हक यो दुनियाँमा किन चाहियो ? ख्वामित र मालिकको सेवा गरेर बसे भै गयो ? चुपचाप बस्नु पर्नेमा मिलेर बसेको समाज भाँडन किन निकाल्नु पर्यो हजारौं वर्ष अघिदेखि खपेको दुखका कुरा ? यस्ता अबान्छित तर्क गरेर दलितको आवाज बन्द भएको हेर्ने मान्छेहरुको धोको देखिन्छ । दलितको सबालमा बोल्नु पर्ने न्यायिक संघर्षमा साथ दिनुपर्नेमा उल्टो दलित चेतनाको खिलाफमा समुदाय समुदायको भिडन्त गराउन केही मान्छेहरु उद्दत छ्न जुन दुर्भाग्यपूर्ण हो ।  अब दलितहरुको पीडा सहने बुता समाप्त हुनैपर्छ । नेपाल विभेद रहित बन्न्न किन सक्तैन ? जातीय विभेदरुपी कलंकको बाछीटाले निधार नबिर्गिएकाे कुनै कथित उच्च जात छैन तसर्थ यो मानवताको सबाल आम मान्छेको हो । 

विभेदको सामान्यीकरण गर्न अनेकौं फितला हास्यास्पद तर्क र प्रस्तुति देख्न पाइन्छ । जुन अत्यन्तै खेद जनक छन् । अमर्यादित छन् । छुवाछूतलाई समाज विकासक्रम र मान्छेको चेतना स्तर उठेपछि कम हुन्छ यसलाई स्वभाविक प्रक्रियामा छोडनु पर्छ भन्नेको नजरमा दलितको ज्यानको मुल्य केवल तुच्छ छ । दलितको आत्मसम्मान र मर्यादा ख्याल ख्यालको विषय हो । उ जन्मको पाप र धर्मका कुरा गरेर समाजमा भ्रम फिजाउने तथा कथित बुद्धिजीवीले समेत समाजलाई मिस लिड गरिरहेछ्न जसलाई चिन्नु र समग्र मानवताको पक्षधरलाई साथ लिएर हिड्ने दलित नेतृत्वको क्षमता आजको अपरिहार्यता हो । अब पनि जातको कारण मान्छे मारिनु , अमर्यादित बन्नु  आत्मासम्मान गुमाउनु शह्य पक्ष हो ? काठमाडौंमा घर भाडा दिने र लिने बिच यस्तै जातीय कुराले स्थान पाएको घटना निरन्तर सुनिन्छ । केही चेतनशिल र पढेलेखेकाहरुले अपमान र अमर्यादित व्यबहारको प्रतिरोध गरेर कानुनी उपचारको बाटो खोजेको पाइन्छ भने न्यायमा पहुँच नहुने अनि आफूलाई गरेको छुवाछूत ‘युज टु’ भएका धेरै घटना सार्वजनिक हुँदैन । 

कोठा भाडामा दिनु ब्यापार हो ब्यापारमा म फलाना जातलाई यो दिन्छु त्यो दिन्न भन्न सामान्य नैतिकताले समेत दिदैन भने यो त मानवताविरुद्धको अपराध सरह हो क्षम्य हुँदैन यसर्थ जातको कारण देखाएर कोठा भाडामा नदिने कुरा नितान्त निजि कुरा र आफ्नो सम्पत्ति माथि आफ्नो मर्जीको तर्क नाजायज र खारेजयोग्य छ । कोठाको प्रसङ्ग आउँदा कोटाकाे तर्क गरेर दलित उत्पीडितलाई सरकारले उपलब्ध गराएको आरक्षणको प्रश्नलाई जोडतोडले उठाएर दलित आवाज कमजोर बनाउने प्रयास भएको छ जुन निकृस्ट हुनुको परिणति हो । हजारौं वर्षदेखि उत्पीडनमा परेका समुदायलाई क्षतिपूर्ति स्वरुप व्यवस्था गरिएको आरक्षण अर्थात कोटाको बिरोध गरेर दलितलाई नदिने कोठासँग जोडनु घोर आपत्तिको कुरा हो । कोटाले उत्पन्न गराएको जटिलताको कारण कथित उच्च जातका गरिब र सीमान्तकृत मान्छेमा परेको मर्काको विषयमा राज्यलाई व्यवस्था गर्न दबाब दिन सकिन्छ यो सिङ्गो राज्यसँग माग्ने र खोस्ने अधिकार हो तर दलित आन्दोलन कमजोर बनाउन कोटाको विषय उचाल्नु केवल दिवा सपना र आत्मरती भन्दा पर हुन सक्तैन । आरक्षणमा सुधार जरुरी छ तर दलित,जनजाति, महिला, मधेसी लगायत पछाडि छोडिएका वर्ग र समुदायको कोटाकाे बिरोध न्यायोचित कुनै हालतमा छैन ।

बुबा आमाको कारण देखाएर दलितलाई निवास उपलब्ध नगराउनु आजको युवा पुस्ताको लाचारीपन र मानवअधिकारको ठाडाे उलंघन हो । कोठा भाडामा दिनु ब्यापार हो ब्यापारमा म फलाना जातलाई यो दिन्छु त्यो दिन्न भन्न सामान्य नैतिकताले समेत दिदैन भने यो त मानवताविरुद्धको अपराध सरह हो क्षम्य हुँदैन । यो देश सबैको साझा भए पछि अवसरको समानुपातिक वितरण नहुनुपर्ने किन ? पिडकलाई कार्बाही र पीडितलाई क्षतिपूर्ति न्यायशास्त्रको सिद्धान्त होइन र ? खै विगत हजारौं वर्ष देखि पिडा दिनेलाई कार्बाहीको माग ? दलितले विगत भुलेर  वर्तमानमा समता र मर्यादाको कुरा पो गरेका छन् । तसर्थ यो देश केही वर्ग समुदायको लागि विशेष र अरु केहीका लागि अपमान तिरस्कार र दुर्ववहारको थलो किन ? अब पिडा खप्ने र शहने दलितको बुता सकिनु पर्छ । न्याय र समानताको लागि परस्पर एकतामा जोड दिदै न्यायिक आवाज अरु शसक्त र मुखर रूपमा आउनु पर्छ ।

गैर दलित हरुले सोचौ र मनन गरौ मानवीय सद्भाव भन्दा ठूलो अर्को कुनै सद्भाव भन्ने ‘जिनिस’ छ र ? परापूर्व काल देखि दलित उपर कस्ता अन्याय अत्याचार गरियो , उनीहरुलाई पछि पार्न के कस्ता धार्मिक कानुनको सहारा लिइयो र उत्पीडन गरियो लेखाजोखा गरेर आत्मसमीक्षा गर्दै माफी मागेर आइन्दा नगर्ने कसम खाएर तद्नुकुल व्यवहार गर्नेमा जोड दिने कि ? दलितको चीत्कार र रोदन आजको नभएर हजारौं वर्ष अघि देखि निरन्तर दुखेर रोएको बोलेको एया आत्था गरेको आवज हो । शहन सक्ने बुता सकिन लागेपछिको रोदन हो । आक्रोश हो भनेर बुझ्ने कहिले ?

स्तम्भकार कार्की विगत लामो समय देखि जातीय विभेद विरुद्ध कलम चलाउन सक्रिय छ्न् ।