१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक यातायात सञ्चालन : रत्नपार्क तीन फन्काे मार्दा पनि भेटिएनन् यात्रु, बसपार्क हट्दा समस्या


0
Shares

काठमाडौं । लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् ।

२०७८ वैशाख १६ गते देखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिना पछि मंगलबारबाट सञ्चालन हुन थालेका छन् । उपत्यकाका तीनवटै प्रशासनले सोमबार जारी गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरविजोर प्रणाली अनुसार सञ्चालनमा आएका हुन् ।

बल्लतल्ल जोरविजोर प्रणाली अनुसार सवारी सञ्चालन गर्न पाए पनि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि चालकहरू मर्कामा परेका छन् । सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुराउन पनि धौधौ भएको उनीहरूको गुनासो छ ।

महानगरले तोकिएका बस स्टेसनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्र दिएपछि यात्रु खोज्नका लागि टुंँडिखेल वरपरि घुमेको घुमेई गर्नुपरेको गुनासो चालकले गरेका छन् । उनीहरूले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाएका छन् । बुुढानिलकण्ठ–रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न, सरकारले जति भने पनि आफूहरूको दुःख सरकारले नसुन्ने गरेको गुनासो गर्नुहुन्छ ।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दूरी कायम गर्दै चलाउन दिइएपनि त्यस भन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति छैन । माइक्रोबसका चालक तथा सहचालकहरू राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरूको समस्या नबुझेको गुनासो गर्छन् ।

साथै महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यवहारिक भएको उनीहरूको तर्क छ । बुढानिलकण्ठ–रत्नपार्क रुटका सह–चालक लिलाराज गिरी वैकल्पिक स्थान नतोकि बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरू पनि समस्यामा परेको बताउनुहुन्छ।

प्रशासनले मंगलबार देखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा सञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरू सडकमा गुड्न थालेका छन् । अटोमोबाइल व्यवसायीहरू भने लामो समय देखि ग्यारेजमा थन्किएका सवारी साधन सामान्य मर्मतविना सडकमा निकाल्न नहुने तर्क गर्छन् ।

व्यवसायी मधुसुधन सिग्देल मेसिनरी सामानहरू सञ्चालन नगरी थन्क्याएर राख्दा पाटपुर्जामा समस्या आउने भएकाले अवस्था परीक्षण गराएर मात्र बाहिर निकाल्नुपर्ने बताउनुहुन्छ । लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा समस्या देखिने भएकाले विना परीक्षण नै सवारी साधनलाई सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै सवारीसाधनको सामान्य परीक्षण गराउन पनि उहाँको आग्रह छ ।