
दिपेन्द्र अधिकारी
काठमाडौं । प्राज्ञिक अभ्यासको उपल्लो निकायका पदाधिकारीहरू तल्लो स्तरको छलकपट र जालझेलमा संलग्न हुँदा कस्तो हुन्छ भन्ने नमुना मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा देखिन थालेको छ ।
करिब दुई हजार आंशिक प्राध्यापकलाई करार सेवामा प्रवेश गराउने पटक–पटकको लिखित सहमति कार्यान्वयन नगर्दा उनीहरू पुनः आन्दोलनमा उत्रिने भएका छन् । शक्ति केन्द्र रिझाएर त्रिविको पदाधिकारी बनेकाहरूले उनीहरूको माग सम्बोधन नगर्दा, त्यसको प्रत्यक्ष असर विश्वविद्यालयका आंगिक क्याम्पसको पठनपाठनमा देखिन थालेको छ ।
‘धेरै पटक जिल्लियौँ अब जिल्लिने छैनौँ’ भन्दै त्रिभुवन आंशिक प्राध्यापकहरू आन्दोलनमा छन् । सहमति गर्ने तर कार्यान्वयनमा टेरपुच्छर नलगाउने विश्वविद्यालय पदाधिकारीको रवैयाले आफूहरूले आन्दोलनलाई पुनः कडा बनाउनुपरेको उनीहरूको भनाइ छ । गत पुस २३ गते माग सम्बोधनका लागि भएको सहमति कार्यान्वयन नआएसम्मका लागि उनीहरूले भर्चुअल कक्षा स्थगित गरेका छन् ।
विश्वविद्यालयको ६० प्रतिशत भन्दा धेरै कक्षाभार आंशिक प्राध्यापकले धान्दै आएका छन् । आंगिक क्याम्पसहरूले आंशिक प्राध्यापकविना पूर्ण रूपमा कक्षा चलाउन नसक्ने भएकाले आन्दोलनको प्रत्यक्ष मारमा अहिले विद्यार्थी छन् । विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसका सहायक प्रमुख जनकराज ढुङ्गाना पूर्णकालिन प्राध्यापकले पूरा कक्षा लिँदा पनि आंशिक नभएको खण्डमा कक्षाहरू नै सञ्चालन नहुने बताउनुहुन्छ ।
यस्तै रत्नराज्य क्याम्पसका प्रमुख डा.जीवनराम ज्ञवाली, क्याम्पसका ३० प्रतिशत कक्षाहरू आंशिक प्राध्यापकहरूबाट चलेको बताउनुहुन्छ । आंशिक प्राध्यापकविना सबै कक्षाहरू सहज रूपमा चल्ने अवस्था नभएकाले केही कक्षाहरू रोकिएको उहाँको भनाइ छ ।
आंशिक हुँदै करारसम्म पुगेका तथा विश्वविद्यालय सेवा आयोग पास गरी स्थायी भएका प्राध्यापकहरूको समेत उनीहरूको मागमा समर्थन छ । आंशिक प्राध्यापकहरूले उठाएका विषयलाई विश्वविद्यालयले उचित उपाय अपनाएर सम्बोधन गर्नुपर्ने प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्ध थापा बताउनुहुन्छ ।
विश्वविद्यालयका पदाधिकारीको उधारो आश्वासन पटक–पटक ‘ललिपप’ बनेकोले अब पठनपाठनमा फर्कदा आंशिककै हैसियतमा नफर्कने आंशिक प्राध्यापकहरूको अडान छ । करारमा नियुक्त गरिएपछि मात्र आफूहरू काममा फर्कने आंशिक प्राध्यापक संघका उपाध्यक्ष युवराज लामिछाने बताउनुहुन्छ । ‘विश्वविद्यालयलाई आंशिक प्राध्यापक चाहिन्छ भने करारमा नियुक्त गर्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘व्यवस्थापन गर्नुपर्ने विश्वविद्यालयले स्थापितको साटो विस्थापित गर्न खोज्छ भने, सावाँ र ब्याज लिएर छोड्छ ।’
कहिले आवश्यक विज्ञापन खुलाउँछाँै लडेर आउनुस् त कहिले आंशिकलाई करार बनाउँदा विश्वविद्यालयको साख जोगाउनै गाह्रो भएको शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल बताउनुहुन्छ । प्रक्रियाअनुसार आंशिकलाई प्राध्यापक बनाउने तयारी जवाफ दिने उहाँले अहिले नै मिति तोक्न नसकिने भन्दै पन्छनुहुन्छ ।
डेढ दशकदेखि आंशिक प्राध्यापक र विश्वविद्यालयबीच निरन्तर जुहारी छ । प्राध्यापक समान कामको समान ज्याला माग गर्छन्, विश्वविद्यालयले विभिन्न बहान गरेर माग पूरा गर्न सधैँ आलटाल गरिरहन्छ । राजनीतिक भागवण्डाका आधारमा कार्यभार सम्हाल्न आएका पदाधिकारी र बाह्रैमास आन्दोलनको अवस्थामा रहेका आंशिक प्राध्यापकको तमासाले मुलुककै जेठो विश्वविद्यालयको पठपाठन शिथिल बनेको छ ।
प्रतिक्रिया दिनुहोस्