१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँको म्याग्देमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

तनहुँ । अविरल बर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

यसैगरी अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड पनि अवरूद्ध भएको छ । गएराति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो ।

कल्भर्ट निर्माणका लागि बनाईएको डाइभर्सन नै बगाएपछि आज बिहानैदेखि बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको हो । अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ ।