
काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्तिवाटिका अगाडि रहेको आकाशे पुलको भित्तामा कोरिएको चित्र मेटेको छ । विद्यार्थी नेता तथा समाजसेवी दुजाङ्ग शेर्पाको योजना तथा व्यक्तिगत लगानीमा कोरिएको चित्र महानगरपालिकाले मेटेको हो ।
शेर्पाका अनुसार जेठ २३ गते २८ नम्बर वडा कार्यालयको अनुमतिले उक्त चित्र कोरिएको थियो । एक लाख रुपैयाँ भन्दा बढी लगानीमा कोरिएको उक्त चित्र बुधबार महानगरले नगर प्रहरी लगाएर मेटेको हो ।
‘हामीले अनैतीक ढंगले चित्र कोरेको होइन’, शेर्पाले भन्नुभयो, ‘वडा नम्बर २८ का वडाअध्यक्ष भाइराम खड्गीले हस्ताक्षर गरेर अनुमति दिएको पत्र हामीसँग छ । ’
२८ नम्बर वडाद्वारा जारी पत्रमा भित्तेलेखनका लागि अनुमति दिएको उल्लेख छ । कोभिड संक्रमणसँग जुध्न फ्रन्टलाइनमा काम गरेकाहरूलाई सम्मान स्वरूप चित्र कोरिएकोमा महानगरले राजनीतिक ट्याग लगाउन खोजेको शेर्पाको आरोप छ ।
चित्रमा कोभिडका विरुद्ध अग्रमोर्चामा खट्ने डाक्टर, नर्स, प्रहरी प्रशासन, सफाइकर्मी लगायतलाई सम्मान जनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्