
-उपेन्द्र खनाल/ईमेज
तनहुँ । कुनै समय आदिकवि भानुभक्त आचार्यको बिर्खे टोपी लगाएर चर्चामा आएको तनहुँको भानु नगरपालिका यतिखेर भने आलोचना खेप्दै आएको छ ।
नगरपालिका आफैंले गरेको निर्णय पालना नगर्दा आलोचित बनेको हो । आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ ओझेलमा परेपछि भानु नगरपालिकाले पहिचान जोगाउन भानुभक्तको विर्खे टोपी लगाउने निर्णय गर्यो ।
सबै कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्छ भनेर गरिएको निर्णयले सञ्चारमाध्यममा चर्चा पनि पायो । कर्मचारीले केही समय टोपी पनि लगाए ।
तर, नगरपालिका आफैंले गरेको निर्णय पालना नगर्दा भानुभक्तमाथि नै उपेक्षा गरिएको आभास भएको छ । अहिले कुनैपनि कर्मचारी कार्यालयमा बिर्खे टोपी लगाएर बसेको भेटिदैनन् ।
सँधैभरि टोपी लगाउन नसकिने तर, विशेष कार्यक्रम तथा बैठक बस्ने दिनमा भने लगाउने गरेको कर्मचारी जितबहादुर घर्ती बताउँछन् । कर्मचारीले बैठकमा टोपी लगाउने भने पनि त्यसको कार्यान्वयन भएको छैन ।
नगरपालिकाको निर्णय पछि केही समय सबै कर्मचारीले टोपी लगाएका थिए । टोपीले आचार्यको चर्चा हुनुभन्दा पनि राम्रो काम गरे भनेर कर्मचारीको प्रसंशा भयो ।
तर तीन महिना पनि नपुग्दै कार्यालय आउँदा कर्मचमारीले अनिवार्य बिर्खे टोपी लगाउनुपर्छ भनेको निर्णय पालना हुन सकेन । जसले गर्दा भनुभक्त आचायको नै खिल्ली उडेको छ ।
यता, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीरमण भटराई भने यो निर्णय फेरि कार्यान्वयनमा ल्याउने बताउँछन् ।
संघीय सरकारले नमूना सहर बनाउन भानु नगरपालिकालाई छनोटमा पारेको छ । तर, आफैंले गरेको निर्णय कर्मचारीले पालना नगरेपछि नगरपालिका आलोचित बन्दै गएको छ ।
आफूले गरेको निर्णय कर्मचारीले नै पालना नगरेपछि जिल्लाभरी नै चर्चा कमाउन मात्रै टोपी लगाउने निर्णय गरेको भन्दै सर्वत्र खण्डन भएको छ ।
लोप हुँदै गएको बिर्खे टोपीको संरक्षणका लागि कर्मचारीलाई टोपी अनिवार्य गरिएको उपमेयर आशा थापा बताउँछिन् ।
बिर्खे टोपी लगाउन अफ्ठ्यारो मान्ने तर ढाका र चुच्चे टोपी भने कर्मचारीले लाउँदै आएका छन् ।
त्यसैले अझै पनि नगरपालिकाले निर्णय कार्यान्वयन गरी कर्मचारीले सँधैभरी भानुभक्तको पहिचान झल्कने बिर्खे टोपी लगाउन सके राष्ट्रिय विभुति आचार्यको अस्तित्व कायम रहन सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्