१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल आयल निगम १० अर्बभन्दा बढी घाटामा


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार वृद्धि हुँदा पनि नेपाल आयल निगमलाई गत पुसदेखि यही असारको पहिलो सातासम्म नौ अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ ।

गत वर्षको सञ्चित नाफाबाट आयात धानिरहेको निगमले जनाएको छ । गत मंसिर १ गतेसम्म २२ करोड ४४ लाख रुपैयाँ नाफामा रहेको निगम त्यसपछि निरन्तर घाटामा गएको हो ।

यो अवधिमा पेट्रोलमा दुई अर्ब १२ करोड, डिजेलमा तीन अर्ब ५९ करोड र खाना पकाउने ग्यास (एलपी) मा ५ अर्ब ६६ करोड घाटा भएको छ ।

निगमलाई मट्टितेल, हवाई इन्धनमा मात्र नाफा छ । निगमले यो अवधिमा मटितेलबाट ३२ करोड ८१ लाख, आन्तरिक हवाइ इन्न्धनबाट ६ करोड ८४ लाख र अन्तर्राष्ट्रिय हवाइ इन्धनबाट ९६ करोड २१ लाख नाफा भएको छ ।

निगमका अनुसार १६ जूनको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा घाटा छ । गत मंसिर १६ गते एक लिटर पेट्रोलमा निगमलाई ५३ पैसा नाफा थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ लगातार बढ्दा पेट्रोलको घाटा पनि उक्लिएको हो । देशभर एक वर्षमा ८० करोड लिटर पेट्रोल खपत हुने गर्छ । त्यसैगरी निगमले डिजेलमा पनि उत्तिकै घाटा खेपिरहेको छ ।

गत पुस १ देखि असार २ गतेसम्मको अवधिमा डिजेलबाट तीन अर्ब ५९ करोड घाटा बेहोरेको निगमले प्रतिलिटर डिजेलमा यतिखेर ३ रुपैयाँ ५३ पैसा घाटा खेप्दै आएको छ । वार्षिक रुपमा देशमा एक अर्ब ५० करोड लिटर डिजेल खपत हुन्छ ।

यसैगरी एलपी ग्यासबाट निगमलाई ५ अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । एक सिलिण्डर ग्यासमा निगमलाई २५८ रुपैयाँ घाटा हुँदै आएको निगमले जनाएको छ ।

सरकारले प्रतिलिटर पेट्रोलमा ५६ दशमलव ६१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३९ दशमलव २८ रुपैयाँ, मटितेलमा २० दशमलव ३५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा १३ दशमलव ९०, बाह्य हवाइ इन्धनमा ६ दशमलव ३१ रुपैयाँ र प्रतिसिलिण्डर एलपी ग्यासमा २२९ रुपैयाँ कर लिँदै आएको छ ।