१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई महिनापछि हवाई सेवा सुरू, दैनिक ६७ वटा उडान हुने


0
Shares

काठमाडौं । कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु गरेको हो ।

प्राधिकरणले चारवटा वायुसेवाको तालिका स्वीकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ ।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् ।

सुर्खेत, नेपालगन्ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति आज टुंगो लाग्ने प्राधिकरणले जनाएको छ ।