
डोलराज रानाभाट
चितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा परेका हुन् ।
डेरी उद्योग र पसलहरुले लकडाउनको बहानामा मनपरि गरेका कारण चितवनका दूग्ध उत्पादक कृषकहरुले लागतमूल्य समेत गुमाउनु परेको दुखेसो गरेका छन् । डेरी उद्योगले लागतभन्दा पनि कम मूल्यमा दुध किन्दै शतप्रतिशत नाफामा उपभोक्तालाई बिक्रि गरेको पाइएपछि किसानहरु आक्रोशित भएका छन् ।
विचौलियाको विकृतिलाई सम्वन्धीत निकायमा जानकारी गराउँदापनि कारवाही नभएपछि चितवन दूग्ध उत्पादक सहकारी संघले सरकारकोसमेत ध्यानाकर्षण गराएको दूग्ध सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
तोकिएको मूल्यमा विक्रि गर्ने अडान लिँदा बजार खुम्चने परिस्थिती हुँदापनि सरकारी निकाय मौन रहेको किसानहरुको गुनासो छ । दूग्ध विकास वोर्डले प्रतिलिटर ५३ रुपैया दिने गरेपनि निजी डेरी उद्योग र पसल संचालकले लकडाउनको मौकामा किसानको दूध विक्रि नहुने भन्दै ४० रुपैयामा दूध खरिद गर्न बाध्य पारिएको छ ।
मर्कामा परेका किसानहरु विक्रि नभई फाल्नुभन्दा ४० रुपैया प्रतिलिटरमै दूध बेच्न बाध्य भएका छन् । किसानसँग सस्तोमा किनेर उपभोक्ताले महङ्गोमा उपभोग गर्नुपर्ने वाध्यताको चाँडै अन्त्य हुनुपर्ने सहकारी संघका सचिव किशोर बगालेको भनाई छ । चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुने गर्दछ । यसमध्ये ४५ प्रतिशत चितवनमै खपत हुने र वाँकी ५५ प्रतिशत जिल्ला वाहिर विक्रि हुँदै आएको छ ।
तर चितवनमा दोस्रो चरणको कोभिड १९ फैलिएपछि सुरु भएको लकडाउनका कारण २० लाख ९० हजार २ सय १४ लिटर दूध विक्रि नभएको संघले जनाएको छ । लकडाउन अवधिमा ७७ लाख ९६ हजार २ सय ५० लिटर दूध विक्रि हुनुपर्ने भएपनि २० लाख ९० हजार दूध विक्रि नभएको हो ।
चितवनमा १ सय १० वटा दूग्ध उत्पादक सहकारी संस्थाहरु रहेको र लकडाउनका कारण केही ३७ दिनसम्म र अधिकांश २० दिनसम्म वन्द भएको संघले जनाएको छ । दुई वटा सहकारी मात्रै एकदिन पनि वन्द नभई संचालनमा रहेका थिए । डेरी उद्योग तथा डीडीसीले समयमै दूध नउठाउँदा किसानहरु मारमा परेका छन नै यही मौकालाई छोपेर विचौलिया बनेका डेरी र उद्योगहरुको मनपरीतन्त्रलाई नियमनकारी निकायले नियन्त्रण नगर्दा उनीहरु दोहोरो मारमा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्