१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीमै कालीगण्डकी डाइभर्सनको विरोध, अर्थमन्त्रीको राजनीतिक चालबाजी भएको आरोप


0
Shares

काठमाडौं । रुपन्देहीको तिनाउ खोला वरपरका वासिन्दाले कालीगण्डकी डाइभर्सन आयोजनाको विरोध गरेका छन् ।

संघीय सरकारले प्रस्ताव गरेको कालीगण्डकी आयोजनाबाट कुनै पनि बेला आफूहरूको उठिबास हुने भन्दै उनीहरूले विरोध गरेका हुन् । वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।

एकातर्फ कालीगण्डकी उपत्यकाभित्र पर्ने चार जिल्लाका १० वटा स्थानीय तह मरुभूमिमा परिणत हुने र अर्कोतर्फ रुपन्देहीमा मानवीय संकट ल्याउने आयोजना अघि बढाउनुको पछाडि वर्तमान अर्थमन्त्री विष्णु पौडेलको राजनीतिक चालबाजी भएको तिनाउ बजारका बासिन्दाको आरोप रहेको छ ।

गण्डकी प्रदेशले आफ्नो प्रदेशको जैविक विविधता, पर्यावरण, पर्यटनमा असर पार्ने भन्दै उक्त आयोजना कुनै हालतमा अघि बढाउन नदिने बताइसकेको छ । पर्यावरण विज्ञहरूले आयोजना बनाएमा चितवन राष्ट्रिय निकुञ्जमा पानीको बहाव कम भएर चलचर समेत मासिने र उक्त निकुञ्ज विश्व सम्पदा सूचीबाट हट्नसक्ने बताएका छन् ।