१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन उद्घाटन


0
Shares

सुजित भण्डारी
नुवाकोट । १३२ केभी समुन्द्रटार–त्रिशुली प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा आएको हो । प्रधानमन्त्री ओलीले नुवाकोटमा निर्माण सम्पन्न प्रसारण लाइन तथा सबस्टेसनको भर्चुअल माध्यमबाट बालुवाटारबाट उद्धाटन गर्नुभएको हो ।

यो प्रसारण लाइनमा प्रवाह हुने गरी निजी लगानीमा तादी खोलामा ६० मेगावाटका १० जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । नेपाल विद्युत प्राधिकरणले यी जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १३२÷३३ केभी समुन्द्रटार सबस्टेसन र २६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो ।

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माण गर्न २०७३ मंसिर १३ गते ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको साढे ४ वर्षमा प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएको हो । प्राधिकरणले गत असार १० गतेदेखि नै अनौपचारिकरूपमा प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

प्रसारण लाइन तथा सबस्टेसन आयोजनामा सरकार, एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंकको संयुक्त लगानी छ । कूल १ अर्ब ५५ करोड रुपैयाँ लागतमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा भएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचालु गरिएको थियो । प्राधिकरणले त्रिशूली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरको हो । ,