९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘हाई-टेक’ कांग्रेसको परिकल्पना


0
Shares

-युवराज गौतम

विश्वलाई यतिबेला ‘ग्लोबल भिलेज’मा रुपमा बुझ्न थालिएको छ । प्रविधिको उच्च विकास, प्रयोगकर्ताहरुको संख्यामा देखिएको बृद्धिले वास्तवमै विश्व एउटा सिंगो गाउँ हो भन्न थालिएको छ । विश्वका समृद्व मुलुकदेखि विकासन्मुख देशहरु दिनप्रतिदिन विकास भइरहेका प्रविधिसँग अभ्यस्त भइरहेका छन् । इन्टरनेट र त्यसमै केन्द्रित सामाजिक संजाल हुँदै विकसित भएका न्यू मिडियाले मानिसलाई प्रविधिमुखी बनाउन सहयोग पुर्‍याएको छ । उच्च सुविधाका मोबाइल, ग्याजेट, टयाब्लेटहरुको सहायतामा मानिसले क्षणभरमै विश्वलाई बुझने र घटनाहरुका बारेमा जानकारी लिन सक्ने बनाएको छ । यो सबै सफलता प्रविधिले मारेको छलाङ हो भनेर बुझन सकिन्छ । २४ सै घण्टा सामाजिक संजालहरुसँग खेलिरहने नयाँ पुस्तालाई इन्टरनेट नसाजस्तो बनिसकेको छ । इन्टरनेट नभएको खण्डमा विश्व अन्धकार बन्यो भनेर बुझे हुन्छ । किनकी न्यू मिडियासँग मानिसहरु रमाउन पाएनन भने विश्वलाई अध्याँरो मान्नेछन् ।

नयाँ प्रविधिको बढ्दो प्रयोगको प्रभाव हरेक तह तप्कामा पुगिसकेको छ । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक स्तरमा यस्ता प्रविधिहरुले ठूलो असर पुर्‍याउन थालिसकेको छ । राजनीति जस्तो संवेदनशील स्थानमा सामाजिक संजाल अर्थात कतिपय न्यू मिडियाहरुले निर्णायक भूमिका नै निर्वाह गर्न थालेका छन । कुनै पनि राष्ट्रको राजनीतिक वा प्रशासनिक क्षेत्रका निर्णयका सवालमा न्यू मिडियाहरुले मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्न थालेका छन् । त्यतिमात्र होइन न्यू मिडियाले जनमत बटुल्न सहयोग पुर्‍याइरहेको छ । राजनीतिलाई सही मार्गमा लैजान न्यू मिडिया सार्थक बन्दै जान थालेको छ । यीनै माध्यमहरुको सहायतामा गरिएको प्रचार प्रभावकारी सावित भएका छन । वास्तवमा सामाजिक संजाल सूचनाको स्रोतका रुपमा स्थापित हुँदै गईरहेका छन् ।

त्यसैले अब यू मिडियासँग नेपाली कांग्रेसको आगामी महाधिवेशन मात्र होइन हरेक राष्ट्रिय निर्वाचनमा जोड्न जोडिनुपर्छ । हरेक गतिविधि प्रविधिसँग गाँस्नुपर्छ । सामाजिक संजालहरुको प्रयोग दैनिक गतिविधि, निती–निर्णय, निर्वातन र महाधिवेशनको प्रचार अभियानको सारथी बन्न सक्छ । अनि अलनाइन मिडियाहरु मार्गदर्शक र प्रचार प्रसारको सहयात्रीका रुपमा उपयोगी हुन सक्छन । नेपालमा चुनावको प्रचार शैली अलिक भड्किलो र उश्रृखंल किसिमको छ । भित्ते लेखन र तुल–ब्यानर झुन्डाएर प्रदुषण फैलाउने पुरानो परम्पराका लागि सामाजिक संजालहरु उपयोगी बन्न सक्छन । पम्प्लेटहरु छरेर गरिएको प्रचार र त्यसले निम्ताएको प्रदुषणका विरुद्ध न्यू मिडिया उपयोगी बन्न सक्छन । यसको प्रयोग गर्ने तौरतरिका हरेक नेता–कार्यकर्ताले सिक्नुपर्ने अपरिहार्य छ । विदेशमा यस्तो किसिमको अभ्यास व्यापक हुन थालेको छ । नेपालमा पनि करिब ९४ प्रतिशत जनताको हातमा मोबाइल पुगिसकेको छ । त्यसमा करिब ६० प्रतिशतले मोबाइलमा इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

मोबाइलवालालाई एसएमएस र मोबाइलमा इन्टरनेट प्रयोगकर्तालाई सामाजिक संजालसँग जोडेर आफ्नो बारेमा जानकारी क्षणभरमै प्रदान गर्न सकिने अवस्था छ । कतिपय राष्ट्रका प्रमुखहरुले सामाजिक संजाल मार्फत नै देशको निती, नियम र कार्यक्रमहरु सार्वजनिक गर्ने परिपाटीको विकास गर्न थालेका छन् । त्यस्ता सन्देशहरुमार्फत नै संचारमाध्यमहरुले समाचार संकलन गर्ने प्रचलन भित्राएका छन् । यसका निम्ती राजनीतिक दलका नेता सचेत हुनु अति आवश्यक पनि छ । न्यू मिडियासँग नेताहरु अभ्यस्त हुन सकेनन भने राजनीतिक करियर र आफ्ना गतिविधिहरु ओझेलमा पर्ने निश्चित छ ।

अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सामाजिक संजाल अर्थात अन्य न्यू मिडियाहरुको अधिक प्रयोग भएको अध्ययनहरु सार्बजनिक भएका छन । राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले यस्तो प्रविधिको प्रयोग मार्फत हजारौं नयाँ पुस्ताको मत बटुलेका थिए । ‘सेन्टर फर युरोपियन स्टडिज’नामक संस्थाले गरेको अध्ययनले सामाजिक संजालहरुले राजनीतिक मुद्दालाई जनस्तर देखि अन्तराष्ट्रिकरण गर्न सहयोग पुर्‍याएको उल्लेख गरेको छ । भारतमा सन् २०१४ मा भएको लोकसभा निर्बाचनमा पनि रेडियो,टिभी,अखबारहरु भन्दा सामाजिक संजाल र एसएमएसको प्रयोग अत्याधिक भएको तथ्यहरु सार्बजनिक भइसकेका छन् । यस्ता प्रविधिको प्रयोगले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्न ठूलो सहयोग पुर्‍याएको अध्ययनहरुले देखाएको छ । नेपालमा पनि दोस्रो संविधान सभा निर्बाचनमा न्यू मिडियाहरुको ब्यापक प्रयोग गरेको पाइन्छ । नेताका कतिपय भाषणहरु यूट्युब मार्फत लाखौंले हेर्ने मौका पाएका थिए, जसका कारण उनलाई चुनावी अभियान चलाउन सघाउ पुगेको थियो ।

न्यू मिडियाका रुपमा स्थापित भएका फेसबुक, टुवीटर, गुगलप्लस, लिङइनमा दलका नेता तथा दलहरु नियमित अपडेट अपरिहार्य भएको छ । किनकी विश्वका धेरै देशहरुमा राजनीतिक निर्वाचन, सामाजिक अभियानलाई सोसल मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालमै भारतले गरेको सीमा हस्तक्षेप, नाकाबन्दी विरुद्ध विश्वभर चलाईएको अभियानले भारत विरोधी भावनाको विकास भएको सत्य हो ।

यतिबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस भर्खरै मात्र न्यू मिडियासँग अभ्यस्त हुन थालेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा युवाहरु परिचालन गरेर कांग्रेसलाई प्रविधिमैत्री बनाउने अभियानमा जुटेको बताउँछन् । आसन्न उपनिर्वाचनका लागि उम्मेद्वारका मुद्दाहरु क्षणभरमै आम जनता र कार्यकर्ताहरु माझ पुर्‍याउन सामाजिक संजाल उपयोग अनिबार्य गर्न पार्टीले रुलिङ गर्न दबाब बढेको छ । पार्टीका शुभेच्छुकहरुमा न्यू मिडियाको प्रयोगका लागि अभिप्रेरित गर्न गाउँस्तरसम्म अभियान चलाउनुपर्नेमा युवाहरुको सुझाव छ । हाई–टेक अर्थात सुचना प्रविधिको उच्च प्रयोग र नयाँ टेक्नोलोजिको उपयोगबाट नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गराउने शसक्त माध्यम अवश्य बन्नेछ । ‘हयासट्याग’, ‘स्लोगन’, भिडियोहरु न्यू मिडिया कै सहायतामा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र पार्टीको विचार तथा सिद्धान्तबारे जानकारी गराउन सहज हुनेछ ।