१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगो ओकल्ने कम्युनिष्ट र लम्पसार पर्ने कम्युनिष्ट


13
Shares

लाओस राई

निरन्तर संघर्ष, वर्ग दुश्मनको सफाया, त्यसको निम्ति सशस्त्र क्रान्ति, विश्व कम्युनिष्ट आन्दोलनको प्रमुख नारा हुन् भने  सर्बहारा वर्गको अधिनायकत्व लक्ष्य । मार्क्स र एंगेल्सले सर्बहारा वर्गको अधिनायकत्वकाे लागि संघर्षको अनिवार्य त्यसको निम्ति सशस्त्र संघर्ष र क्रान्तिको सैद्धान्तिक मार्ग र मानसिकता संगठनिक ढाँचाको तयार गर्दै थिए । त्यतिबेला युरोपका प्रायः देशका सत्ता सामान्ती ए‌वम पूँजीपति वर्गको नियन्त्रण थियो । उत्पादनको साधनहरु प्रायः सबै पूँजीपति वर्ग र सामन्तीहरुकै कब्जामा थियो । शोषण, दमन र आत्याचार व्याप्त थियो ।मजदुरहरु आन्दोलित थिए । जब पूँजीवादी सत्ता भत्काउनु वर्ग संघर्ष जरुरी छ । संघर्षको माध्यमले मात्र सर्वहारा वर्गले अधिनायाकत्व प्राप्त गर्न सक्छ भन्ने जस्ता  सैद्धान्तिक मान्यता निर्माण भयो । त्यसपछि संगठित हुँदै वर्ग संघर्षको आगो दन्कन थाल्यो ।

संघर्षको आगो युरोपमा मात्र सिमित रहेन । सिङ्गो विश्वमा रापिलो ढंगले फैलियो । क्रान्ति र संघर्षको सन्दर्भमा रोजा लक्जमवर्ग वर्लिन सत्ताको विरुद्ध आक्रोश पोख्दै लेख्छिन् ‘आदेश जुन गुलाम र मुर्ख वर्लिनले जारी गरेको छ, उसलाई थाहा छैन कि उसको हुकुम, बालुवामाथि टिकेको छ, क्रान्ति लड्दै पड्दै फेरि उठ्नेछ र चुनौती दिंदै भन्ने छ, म थिए, म हुँ र म रहीरहन्छु ।’ उनको आक्रोशपूर्ण अभिव्यक्ति दमनको विरुद्धमा निरन्तर संघर्ष अनिवार्य छ । क्रान्ति र संघर्षले मात्र मजदुर वर्गको विजय हुन्छ भन्ने मान्यताले गर्दा नै जर्मनमा लामो समय मजदुर आन्दोलन चलिरह्यो ।    

रोजाको क्रान्तिकारी विचार किन उल्लेख गरेको हो भने नेपालमा जुन बेला कम्युनिष्ट आन्दोलन माथि उठ्दै थियो ।  त्यसबेला कम्युनिष्टहरु पार्टीको निर्णयमा मर्न तयार हुन्थे र भन्थ्ये ‘तिमी एक मार हामी सय हुन्छौं, तिमी सय मार हामी हजार हुन्छौं’ भन्दै आक्रोशपूर्ण रुपमा बोलीको आगो ओकल्थे । तत्कालिन पंचायती शासनमा धेरै मान्छेहरु कम्युनिष्ट विचार राखेकै कारण मारिए पनि । स्थापनाको छोटो समयमा नै संसोधनवादी धार समाएका कम्युनिष्ट पार्टीहरुले ०१५ सालको संसदीय निर्वाचनमा थला परेसंगै संसदीय व्यवस्थामा भासिनु पुगे । जब मदन भण्डारीले मार्क्सवादको सृजनात्मक व्यख्या भन्दै जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्ान्त र कार्यक्रम बनाए । त्यसबेलादेखि नेपालका कम्युनिष्टहरु पुँजीवादी पार्टीमा परिणत भए । यहींबाट नेपालका कम्युनिष्ट पार्टीहरुले मार्क्सवाद, लेनिनवाद र माओवादका पथलाई लात हान्दै  ‘बर्नस्टाईन’को सुधारवादी विचारसंग लम्पसार पर्न पुग्यो ।

अदिनायकत्व जिन्दावादको नारा उचाल्ले नेकपा एमालेले संसदीय व्यवस्था र प्रजातन्त्र जिन्दावाद भन्न थाले । क्रान्तीकारी कम्युनिष्टहरुलाई जडसुत्रवादी, परम्परावादी र शस्त्रीय विचारको शिकारको आरोप लगाउँदै एमाले प्रगतिशील बने । आश्चर्य कुरा त एमाले संसद्यी भासमा भासिएको भएपनि क्रान्ति र संघर्ष भन्न चाँही कहिल्यै छाडेन ।

माओवादीले नेपाली कांग्रेसको सरकारको बिरुद्ध आगो ओकल्दै जनयुद्धको थाल्यो । त्यसबेला पनि थुप्रै पार्टीहरु मार्क्सवादी, लेलिनवादी र माओवादी नाममा स्थापित थिए । तीनिहरुले क्रान्ति गर्ने त भनिरहन्थ्ये तर थाल्ने हिम्मत चांही कहिल्यै गरेनन् । पूर्ण रुपले काउस्कीको अवसरवादी  मार्ग पक्रेको पार्टीहरुको लागि  क्रान्तिको कुरा त छेपाराको कथा झैँ थियो । बिद्रोहताका कांग्रेसका कार्यकर्ता मारिंदा मौन बस्ने कम्युनिष्ट पार्टीहरु यदाकदा एमाले र अन्य बामघटकहरुको कार्यकर्ता मारिदा भने माओवादीलालाई उग्र बामपन्थी भड्काव र आतंककारी भन्दै आक्रोस पोख्थे ।  जनवाद र सर्वहारावर्गको अधिनायकत्व स्थापित गरेरै छाड्ने फुर्ति लगाउने माओवादी पनि लोकतान्त्रिक गणतन्त्र र  २१औं शताब्दीमा जनवादको बाटो समात्दै संसदीय गणतन्त्रमा भासिएपछी आगो ओकल्ले माओवादीहरु पनि एमाले जस्तै संसदीय व्यवस्थासँगै लम्पसार पर्न पुगे ।

क्रान्तिकारी माओवादी पार्टी लम्पसार हुँदै जाँदा दुई लाइन संघर्षमा अवसरवादी धाराको विजयीलाई कारण देखाउँछन् मोहन बैद्य । लोकतान्त्रिक गणतन्त्रको बारेमा उनी  टिप्पणी गर्दछन् –‘आजको युगमा लोकतान्त्रिक गणतन्त्रको चरित्र सामान्तवाद र साम्रज्यवाद बिरोधी हुनै सक्तैन । लोकतान्त्रिक गणतन्त्रको चुनावी तरिकाले नयाँ जनवाद प्राप्त हुने कुरा एकदम नै बकबासपूर्ण कुरा हो । यो बल प्रयोगको सिद्दान्त बिरोधमा ख्रुस्चेभको शान्तिपूर्ण संक्रमणको बाटो हो । यहाँ प्रश्न शासनसत्ताको मात्र होइन, मुख्यतःराज्यसत्ता र गणतन्त्रमा वर्गीय स्वरुप पनि, यो पूर्ण रुपले संसदीय दलदलमा फस्नु हो ।’

लोकतान्त्रिक  गणतन्त्र  सामन्ती र पूँजीपतिहरुको राजनीतिक गर्ने नयाँ खेल मैदान हो । यसरी लोकतान्त्रिक व्यवस्थाले कम्युनिष्ट आन्दोलनलाई  लक्ष्यमा पुग्न अबरोध सृजना गर्छ । यो बिसर्जन र पश्चगमनको बाटो हो भन्ने विचारको नेतृत्व मोहन बैधले पार्टी भित्र धेरै पहिलेदेखि गरेको देखिन्छ । त्यसैले बैद्य भन्छन् –पूर्णरुपमा जनवादी गणतन्त्रको स्थापनाले मात्र सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नसक्छ । लोकतान्त्रिक गणतन्त्रको बाटो समात्दा कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ । तर प्रचण्डले बैद्यलाई जडसुत्रवादी, परम्परावादी, शास्त्रीय तथा यथास्थियीवादी विचारको पिछलग्गुको आरोप लगाए पनि वास्तविकतामा कम्युनिष्ट आन्दोलन सिथिल, लम्पसार परेकै छ । बैद्यले भनेको जस्तै ।

जव माओवादी संघर्षको मार्गदेखि धर्मराउंदै मजदुर आन्दोलनले राजनीतिक अस्तित्वमा उभ्याएका क्रान्तिकारी मजदुर नेता गिरिजाप्रसाद कोइरालासंग कार्यगत एकता गर्न (१२ बुँदे सम्झौता) पुगे । त्यसले पहिलो कुरा कम्युनिष्ट आन्दोलनलाई शिथिल पार्यो भने अर्को कुरा पार्टी विभाजनको बिजारोपण पनि गर्यो । त्यसपछी विकसित राजनीतिक घटनाक्रमले माओवादी पार्टी भित्र अवसरवादी समूहको जित र क्रान्तिकारीहरुको हार हुँदै गयो ।

यहि सम्झौताले प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भए । सरकार निर्माणको कोणबाट हेर्दा माओवादी आन्दोलन सफल देखिए पनि सिंगो कम्युनिष्ट आन्दोलन त्यसको लक्ष्य, उध्देश्य र  भावनालाई केन्द्रमा राखेर हेर्न हो भने माओवादीको सत्ता यात्रा जनयुद्ध्काे बिसर्जन, क्रान्तिको समाप्ती, संसदवादी शक्तिहरुसंग जीवनरक्षा निम्ति लम्पसार अवस्स्थामा थियो । त्यसकारण माओवादीको लोकतान्त्रिक गणतन्त्रको यात्रालाई  सर्वहारावर्गको आन्दोलनको विश्व दृष्टिकोणले हेर्दा कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठुलो अवसरवादी, पश्चगामी कदम र संक्रमणको चरण पनि हो भन्न सकिन्छ ।

स्वार्थ केन्द्रित राजनीतिक घटनाक्रमले एमाले र माओवादी केन्द्रको एकता र बिभाजन दुवै गरायो । फेरि नेपालको कम्युनिष्ट आन्दोलनमा  कम्युनिष्ट पार्टी एकको दुईमा बिभाजन र एकता हुनु कुनै नयाँ नौलो कुरा होइन । भई राखेको कुरा हो । मुख्य कुरा कम्युनिष्ट आन्दोलनको मकसद पुरा भयो कि भएन त्यो पक्ष प्रमुख हो । एकातर्फ प्रचण्ड  पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भईसक्यो भन्ने निष्कर्ष छ भने अर्कोतर्फ बैद्य कम्युनिष्ट आन्दोलन अझै बृहत, शसक्त संगठीत बनाउनुपर्छ । त्यसपछी मात्र सर्वहाराको जित हुन्छ भन्दै आगो ओकल्दै छन् । त्यसरी नै आगो ओकल्ने अर्का नेत्र विक्रम चन्द विप्लव पनि कम देखिंदैनन् ।

एकीकृत जनक्रान्तिको जोश देखाउंदै पाँच वर्ष संघर्षको अभ्यास गरे उनले । उनको अभ्यास पनि समाजवादको बैज्ञानिक स्वरुपकको ब्याख्या र विश्लेषण गरिनु पर्छ । त्यसको सफलताको निम्ति एकीकृत जनक्रान्तिको आवश्यकता छ भन्ने शोधपत्र देखाउंदै दक्षिणपन्थी केपी ओली सरकारसंग लम्पसार हुन पुगे । यी घटना क्रमहरुलाई हेर्दा के देखिन्छ भने कुनै न कुनै अवस्थामा कम्युनिष्टहरु राज्य सत्तासंग लम्पसार परेकै देखिन्छ । पुष्पलाल, मदन भण्डारी, प्रचण्ड र  पछिल्लो समयमा विप्लवले क्रमसः बहुलवादी दलको सरकारसंग लम्पसार भएको घटना क्रमले देखाउंछ ।

कलिलो उमेरमा कम्युनिष्ट भएका मोहन बिक्रम सिंह पनि लोकतान्त्रिक गणतन्त्र प्रवक्ता र संसद विघटनको  विरुद्धमा उर्लिन थालेपछी क्रान्तिकारीहरु सबै लम्पसार परेछन् भन्नु पर्दैन । सबैभन्दा आश्चर्य र हाँस्यास्पद कुरो त एमाले भित्रको विबाद र लम्पसारलाई लिन सकिन्छ । एकातिर केपी ओली सरकारमा लम्पसार परिरहेका छन् भने अर्कोतिर त्यही पार्टीको नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुन पाइन्छ कि भन्दै नेपाली कांग्रेससंग लम्पसार परिरहेका छन् । बिगतमा कांग्रेसको बिरुद्ध आगो ओकल्ने प्रचण्ड, माधव, झलनाथ, डा.बाबुराम चारै जना आजको दिनमा कांग्रेस र शेरबहादुर देउवासंग निकै दिल्लगी देखाइरहेका छन्  । तथापि यी चारै जना न देउवाको  प्रसंशक हुन सक्छन्, न सारथि हुन् । हुन् त केवल ओलीको सफलता देख्न नसकेर जलेका हुन् ।

ओली सरकार ढाल्न पांच पाण्डव (शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल डा.बाबुराम भट्टराई)ले अदालत देखि सडक संघर्षको तमसुक बनाएका छन् , संसद भंग गर्दा आन्दोलनको आँधीबेहरी निर्माण गर्नुको सट्टा प्रधानमन्त्री बनाइ देउ भन्दै तमसुक बुझाएका छन् । ऊ बेलाका पाण्डव राज्यवीहिन हुँदा जंगल गए । यो बेलाको पाण्डव सत्ता नपाउँदा तमसुक बोक्दै अदालत गएका छन् । यी सबै कारणहरुले गर्दा सजिलै भन्न सकिन्छ हिजो जसरी अन्याय, अत्याचार, शोषण दमनको बिरुद्धमा आगो ओकल्ने कम्युनिष्टहरु आज लम्पसार पर्न पुगे । हिजो कांग्रेस र कांग्रेसले निर्माण गरेको व्यवस्था ध्वस्त पार्छु भन्ने प्रचण्ड, बाबुराम, माधव र झलनाथहरु त्यहि व्यवस्थामा लम्पसार परे । कम्युनिष्ट विचार, सिद्धान्त र विश्वब्यापी कम्युनिष्ट आन्दोलनसँग उनीहरुको कुनै छेउटुप्पो नै मिलेन । त्यसैले अत्यमा को थिए आगो ओकल्ने कम्युनिष्ट र को हो लम्पसार पर्ने कम्युनिष्ट । दृश्य छर्लंग छ । अलमलिन पर्दैन ।

(लेखकः नेपाली कांग्रेसका नेता हुन्)