
पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन ।
बीरगन्ज महानगरपालिकाका अधिकांस क्षेत्र डुवानमा परेको छ । श्रीसिया खोलाको पानी बिरगन्जमा प्रवेश गरेपछि राधामाई टोल, मुर्ली आदर्शनगर छपकैयामा लाखौको क्षती भएको छ ।
वीरगन्ज महानगरपालिका १० आदर्शनगर क्षेत्रमा मुख्य सडक नै डुबानमा परेको छ । निजी बैंक तथा वित्तीय संस्था, थुप्रै व्यावसायिक घरानाका कार्यालय डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पोखरिया ४ मा एक कच्ची घर ढलेको छ ।
पकाहामैनपुर गाउँपालिका वडा नं ४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई हरिहर निमाविमा सारिएको छ । वीरगन्ज २० उदयपुर घुर्मीमा १६ घर, जिराभवानी गाउँपालिका १ बलुवा टोलमा ४ घर, जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
त्यसैगरि पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयांग्र्रेलाइनलगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
यसैगरी हालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेका उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताए ।
प्रतिक्रिया दिनुहोस्