
विवेक भण्डारी
नवलपुर । देवचुली नगरपालिका–६ कृतिपुर क्षेत्रमा अहिले विकासका योजनाहरु सम्पन्न हुँदै जाँदा स्थानीयहरुले सोच्दै नसोचेको विकास भएको भन्दै खुशी भएका छन् । स्थानीयहरुलाई केही वर्षअघि चार किलो मिटर टाढा हिडेर वडा कार्यालय जानुपर्ने बाध्यता थियो । तर अहिले गाउँमै वडा कार्यालय आएसँगै बाटोघाटो र अन्य भौतिक विकास भएको छ ।
नवलपुरको पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दलदलेबाट दश किलोमिटर उत्तरमा पर्ने कृतिपुरमा बिजुली र खानेपानीको पहुँच थिएन । २०७२ सालको भूकम्पले यस वस्तीका एक सय पाचँवटा घर पूर्णरुपले भत्किएका थिए । भूकम्पले भत्काएको घर सरकारको सहयोगमा आफैं सक्रिय भएर घर निर्माण गरेपछि पक्की घरहरु बनेका छन् । पहिले कच्ची घरहरु रहेको उक्त बस्तीमा अहिले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माणसँगै अन्य विकासले बस्तीको मुहार नै फेरिएको उक्त वडाका वडा अध्यक्ष भीमबहादुर सोती बताउनुहुन्छ ।
सुगम जिल्लाको विकट बस्ती रहेको उक्त वडामा अहिले स्थानीय तथा प्रदेश सरकारको चासो बढेको छ । अहिले उक्त वडामा बिजुली, शिक्षा र खानेपानीको पहुँच पुगेको छ । केही वर्ष अघिसम्म आधारभूत शिक्षा लिन घण्टौ हिड्नुपर्ने बाध्यता अहिले हटेको छ । ग्रामीण क्षेत्रमा सडक सञ्जाल जोडिएपछि सो क्षेत्रमा उत्पादन हुने र बजार पनि पाउन थालेको स्थानीयको भनाइ छ ।
यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि यो वस्तीमा जिल्लामै पहिलोपटक ९९ प्रतिशत पुनर्निमार्णको लक्ष्य पाएको छ । भूकम्पले भत्काएका निजी भवन तथा विद्यालयहरुको पुनर्निर्माणको कामसमेत सकिएको पुनर्निर्माण प्राधिकरण नवलपुरका प्रमुख राजेद्र कार्की बताउनुहुन्छ । नवलपुरको देवचुली नगरपालिका–६ मा मात्र नभइ अन्य जिल्लाका विकट क्षेत्रमा पनि पुग्न सकेमा विकास निर्माणको पँहुचले सबै क्षेत्रलाई समेट्न सक्ने थियो ।
प्रतिक्रिया दिनुहोस्