१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले रोक लगाएपछि कालाजारको औषधिले कालो ढुसीको उपचार गरिँदै


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । औषधि अभावका कारण कोरोना संक्रमण देखिएका व्यक्तिमा कालोढुसी अर्थात म्यूक्रोमाइकोसिसको समस्या देखिने उपचारमा समस्या आउने देखिएको छ । हालसम्म २६ जनामा देखिइसकेको यस रोगमा औषधिको अभाका कारण वैकल्पिक औषधि प्रयोग हुँदै आएको छ ।

लामो समय औषधि सेवन गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखियो भने कालो ढुसी अर्थात म्यूक्रोमाइकोसिसको समस्या देखिने गर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा देखिने संक्रमणले मधुमेह रोगीलाई बढी सताउने गरेको छ ।

माटो, बोटविरुवा, मल, कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर नामक ढुसीबाट यो रोग सर्नेगर्छ । भारतमा निकै फैलिएको संक्रमण अहिले नेपालमा पनि देखिन थालेको छ । पहिला पनि वार्षिक फाटफुट देखिने गरेको कालो ढुसी, कोरोना संक्रमण पछि बढी देखिने थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, यस रोगको उपचारमा प्रयोग हुने औषधि भने नेपालमा छैन । औषधि बिक्रीमा भारतले रोक लगाएपछि कालाजारमा प्रयोग हुने हुने औषधिबाट बिरामीमो उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । आफूहरूले खरिद गर्न खोज्दा पनि नपाएको उहाँको भनाइ छ ।

कालो ढुसीले विशेष गरी आँखा, नाक, नशा, फोक्सो र दिमागमा समेत असर पु¥याउने गर्छ । मृत्युदर ५० प्रतिशत रहेको यस रोगबाट नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने केहीले दृष्टि नै गुमाएका छन् । कालो ढुसीको समस्या सुरुको अवस्थामा नै पहिचान हुन समस्या हुने चिकित्सकहरू बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्र कालो ढुसीको संक्रमण भएका १६ जना भर्ना भएका थिए । वैकल्पिक औषधिको प्रयोगले केहीलाई नकारात्मक असरसमेत देखिने गरेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. रविन्द्र प्रधानाङ्गले बताउनुभयो । असर भएमा त्यसको विकल्पसमेत अस्पतालमा रहेको उहाँको भनाइ छ ।

कोरोना संक्रमण देखिएका व्यक्तिको शरीरमा अक्सिजनको कमी हुने वित्तिकै स्टेरोइड औषधि प्रयोग गर्दा यो समस्या देखिएको हुन सक्ने चिकित्सकहरू बताउँछन् । हाल औषधि ल्याउन प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रायल का प्रवक्ता डा. पौडेलले विश्व स्वास्थ्य संगठनबाट औषधि प्राप्त हुने आश्वासन पाएको बताउनुभयो ।

हाल नेपालमा कोरोना संक्रमणको जोखिम केही कम भएका कारण यस समस्या थप नबढ्न पनि सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । दिर्घरोगीमा देखिनसक्ने घातक कालो ढुसी रोगबाट मृत्युको सम्भावनासमेत उच्च रहेकाले औषधि आयातमा सरकारले ढिलो गर्नुहुँदैन ।