१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सुतेको राष्ट्रपतिलाई मध्यरातमा उठाएर संसद् विघटन गर्नु नैतिकता हो ?, उज्यालो हुँदैनथ्यो’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल प्रधानमन्त्री सावित भएको आरोप लगाउनुभयो ।

आफैँले पत्रकार सम्मेलन गरेर सरकार चलाउन सकिनँ भन्ने ओलीले पुनः प्रधानमन्त्रीका लागि दाबी पेश गर्न जानु कहाँसम्मको नैतिकता हो भन्दै उहाँले प्र्रश्न गर्नुभयो । साथै उहाँले मध्यराति सुतेको राष्ट्रपतिलाई उठाएर प्रतिनिधिसभा विघटन गर्नु कतिसम्म संवैधानिक र नैतिक हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मध्यराति राष्ट्रपति सुतेको बेलामा उठाएर, ढोका ढक ढक गरेर उठाएर (प्रतिनिधिसभा) विघटन गर्नु कतिसम्मको संवैधानिक र नैतिकताको कुरा हो ? उज्यालो हुँदैनथ्यो ?’

राष्ट्रियसभा सदस्य रायमाझीले रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रुपमा विरोध जनाएको बताउनुभयो ।

शिरदेखि पाउ सम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्रस्तुत गरेको बताउनुभयो । उहाँले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थिति सबैलाई देखाएर भन्नुभयो, ‘मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा आवाज उठाइरहेको छु ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोशाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडकमा कालो झण्डा देखाउने अवस्था नभएको कारणले आज सम्माननीय अध्यक्ष ज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरुद्धमा यो सदनबाट मुलुकले थाहा पाओस् विरोध स्वरुप कालो झण्डाको रुपमा मैले यो क्याप प्रस्तुत गरेको छु ।’

रायमाझीले सरकारकै स्वास्थ्य मन्त्रीले भ्याक्सिनको ४ डलर पर्छ भनेको तर अहिले चीनबाट ल्याउन लागेको भ्याक्सिनको प्रति भ्याक्सिन १४ डलर भनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभयो ।

ओलीले प्रचण्डसँग गठबन्धन गर्दा केही नहुने अनि अहिले ५ दलिय गठबन्धनमा सहभागी भएको भन्दै नेपाली कांग्रेसलाई प्रचण्ड पथमा गयो भन्ने ? कुन मुखले भन्नुभएको हो भनी उहाँले प्रधानमन्त्री प्रति कटाक्ष गर्नुभयो ।