
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार देखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागू हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोरविजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमता भन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपछि मंगलबार देखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् ।
काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउने छैनन् । कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने लगायतका शर्त राख्दै प्रशासनले जोरविजोर प्रणाली हटाएको हो । तर, उपत्यकाबाट लामो दुरीमा सञ्चालन हुने सवारी साधन अझै सञ्चालन अनुमति दिइएको छै ।
प्रशासान कार्यालयले २५ सिट भन्दा माथिका सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यस भन्दा कम सिट हुने ट्याम्पो, माइक्रोबस व्यवसायी तथा मजदुर संगठनहरुले विरोध गर्दै आएका थिए । व्यवसायी र मजदुर संगठनको दवावपछि प्रशासनले मातहतका निकायमा परामर्श गर्दै स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिएको हो ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्