
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधनमा मातहतका कार्यालयमा तीन दिन बन्द गर्दै झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएको हो ।
ट्रेड युनियन कांग्रेसको २०४७ मा पुनःस्थापना भएदेखि नै श्रमिक र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहदै आउनु भएका कुँवर ट्रेड युनियन कांग्रेसमा केन्द्रीय सदस्य, सचिव, वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । पछिल्लो समय नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य र कांग्रेसको तर्फबाट पोखरा महानगरको मेयरमा समेत उहाँले उम्मेदवारी दिनुभएको थियो ।
कुँवरको कोरोना संक्रमणका कारण ६५ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा असार २१ गते निधन भएको हो । स्व. कुँवरको पार्थिव शरीरलाई मंगलबार बिहान ८ देखि ९ बजेसम्म ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
श्रद्धाञ्जली दिन कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिल थापा, नेता अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे, दिपक गिरी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, जिफण्ट अध्यक्ष विनोद श्रेष्ठ, अन्टुफ अध्यक्ष जगत सिम्खडा लगायत कांग्रेस र ट्रेड युनियन नेता कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कुँवरको निधनले ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई अतुलनीय क्षतिपुगेको ट्रेड युनियन कांग्रेसले जनाएको छ । स्व.कुँवर कांग्रेस नेता अर्जुननरसिंह केसीको बहिनीज्वाईँसमेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्