
प्रदीप पौडेल
पोखरा । गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्यभित्रका सवारी साधन मात्र खरिद गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्ले अत्यावश्यक परेको अवस्थामा मात्र एकरुपता र मितव्ययिता कायम गरी सवारी साधन खरिद गर्ने निर्णय गरेको हो । नयाँ सवारी साधन खरिदमा एकरुपता अपनाउँदै न्यूनतम मूल्यका सवारी साधन खरिदको निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
मितव्ययिता अपनाउँदा सवारी साधन खरिदमा मात्र यसवर्ष २८ करोड रुपैयाँ बचत भएको खड्काको भनाइ छ । उहाँका अनुसार एमाले सरकारको पालामा विभिन्न निकायबाट सवारी साधन खरिद गर्न ३८ करोड रुपैयाँ माग भएको थियो । त्यसमा आवश्यकताका आधारमा मितव्ययिता अपनाउँदा २८ करोड रुपैयाँ घटाएर केवल १० करोड रुपैयाँमा झारिएको उनले दाबी गरे ।
‘हामीले विलासी सवारी साधन खरिद नगरी आवश्यक्ता पूरा गर्ने खालका गाडी मात्र खरिद गर्ने निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘जसका लागि सबै सवारी साधन खरिद गर्दा एकरूपता अपनाउने र कम बजेटका सवारी खरिद गर्ने भन्ने निर्णय छ ।’
यसअघि एमाले नेतृत्वको सरकारले सवारी साधन खरिदमा एकरुपता नअपनाउँदा कसैले करोड मुल्य त कसैले २०–२२ लाख रुपैयाँका गाडी खरिद गर्ने गरेको पाइएको भन्दै प्रवक्ता खड्काको आरोप छ ।
गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि तत्काल सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टास्क फोर्स गठन गरेको छ । फोर्सका सदस्यहरूमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र राजीव गुरुङ, कानून सचिव रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रामेश्वर अर्याल टास्क फोर्सको सदस्य सचिव रहनुहुनेछ ।
बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपुरका खड्ग कमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्