
एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो ।
सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो । यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ ।
क्वाटरफाइनलमा इटलीले विश्व नम्बर एक बेल्जियमलाई २–१ ले पराजित गरेको थियो । उता स्पेनले राम्रो सुरुवात गर्न नसके पनि पछिल्ला खेलहरूमा गोलको वर्षा गर्दै आएको छ । क्वाटरफाइनलमा स्पेनले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
जर्मनीसँगै सर्वाधिक ३ पटक युरोकप जितेको स्पेनले यसपटक उपाधि जित्दै सबैभन्दा सफल टिम बन्न चाहन्छ । इटलीले भने सन् १९६८ मा एक पटक मात्र उपाधि जितेको छ । पछिल्लो पटक सन् २०१२ मा फाइनल खेलेको इटली स्पेनसँग नै पराजित भएको थियो ।
इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो । यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११–११ खेल जितेका छन् । १५ खेल बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्