
लक्ष्मीप्रसाद सापकोटा
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढिपहिरोका कारण विस्थापित भएका छन् ।
सोमबार राति वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका–४ जिरो किमी र नारायस्थान वरपरका १९ घरे जोखिममा परेका हुन् । कुश्मा नगरपालिका–३ सल्यानबाट ग्रेगान सहितको पहिरो आउँदा बस्तीमा असर गरेको छ । ठूल्ठूला ढुंगा र गेगर सहितको पहिरोले स्थानीयको आँगन पुरिएको छ ।
मध्यपहाडी लोकमार्गमा समेत गेग्रानले भरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय परिसर र विरुवा नर्सरी पहिरोले पुरिएको छ । कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।
नगरप्रमुख रामचन्द्र जोशीले पहिरोको जोखिममा रहेको बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र पहिरोको स्थाई समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पहिरोको स्थलगत अवलोकन गरी जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकार र प्रदेश सरकारलाई पहिरो नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरिएको जोशीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बस्तीमा जोखिम बढेकोले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सार्ने र च्येकड्याम बनाएर पहिरो नियन्त्रणको प्रयास गर्न यहाँका सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो ।
बस्तीमा आएको ढुंगा र ग्रेगान पन्छाउन कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई समन्वयात्मक तरिकाले काम गर्न प्रशासनले अनुरोध गरेको छ । पहिरोले जिरोकिलो, पोखरी उप्रि र डम्डारेखोला वरपरको बस्तीमा ठूलो क्षति हुने भएकाले सतर्क रहन पनि अनुरोध गरिएको छ ।
पहिरोको दीर्घकालीन समाधान गर्नेमा प्रमुख जिल्ला अधिकारी खत्रीले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्