२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी


0
Shares

काठमाडौं । अधिवक्ता सरोज बुढाथोकीले नेकपा (माओवादी केन्द्र)ले वैधानिकता गुमाएकाले दर्ता खारेजको माग गर्नुभएको छ ।

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

उहाँसहितका नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर २०६९ माघको २० देखि २६ गतेसम्म महाधिवेशन भएको नेकपा माओवादी केन्द्रले त्यसपछि संविधाबमोजिम् साढे ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि नगरेकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

‘२०६९ माघको २० देखि २६ गतेसम्म महाधिवेशन भएको नेकपा(माओवादी केन्द्र)को ९ वर्षसम्म पनि महाधिवेशन भएको छैन,’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट ३ वर्षलाई शून्य समय मान्ने हो भने पनि पार्टीले गत जेठमा महाधिवेशन गरिसक्नुपर्ने थियो, तर उहाँहरूले महाधिवेशन गर्नुभएन, त्यसैले दर्ता खारेजीको माग गर्दै निवेदन पेश गरेको हुँ ।’

अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रले केन्द्रीय कमिटीका सदस्यका संख्या निर्वाचन आयोगमा नबुझाएको, पार्टीको महासचिव नभएको र संविधानतः ढिलोमा साढे ५ वर्षमा हुनुपर्ने महाधिवेशन नगरेपछि अवैधानिक भएकाले दर्ता खारेजीको माग गरिएको बताउनुभयो ।

अधिवक्ता बुढाथोकीसहित माओवादी केन्द्र छाडेर एमालेमा लागेको नेताहरूले बुझाएको निवेदनलाई दर्ता गर्दै आयोगले छलफलका लागि पुनः बोलाउने बताएको उहाँले जानकारी दिनुभयो ।