१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कूटनीतिक कमजोरीले खोप आएन, सरकार किन फेल भयो ?– सांसद देव


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले राष्ट्रियसभा सदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्व कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उहाँले गर्नुभयो ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेश र पाकिस्तानलाई उपलब्ध भएको सांसद देवको भनाइ छ । भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै सरकार किन फेल भयो भनेर प्रश्न गर्नुभयो ।

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंग्गित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गर्नुभयो । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिँदै व्यंग्य कविता वाचन गर्नुभएको थियो ।

सांसद देवले वर्तमान सरकार कमिसन एजेण्टहरूको घेराउमा परेको आरोप लगाउनुभयो । उहाँले कमिसनमा कुरा नमिलेका कारण कोभिशिल्ड खोप आउन नसकेको दाबी गर्नुभयो । कमिसन एजेण्टले पैसा नपाएको कारणले कोभिशिल्ड खोप नआएको दाबी गर्नुभयो । उहाँले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न नसकेको भन्दै डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गर्नुभयो ।

राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाइसकेको र अन्तत एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको बताउनुभयो । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताउनुभयो ।

सांसद देवले वैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गर्नुभयो । उहाँले कोरोना महामारी विश्वव्यापी समस्या भएकाले नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधैँ तयार रहेको बताउँदै आए पनि सरकारले प्रतिपक्षी दलहरूसँग कहिल्यै सहयोग नमागेको गुनासो गर्नुभयो ।