
राजेश जीसी
प्यूठान । कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको भन्दै जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।
प्यूठानमा कोरोना भाइरसको दोस्रो लहरका कारण संक्रमितको संख्या बढेपछि गत वैशाख १८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । तर, अहिले जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।
निषेधाज्ञा खुकुलो बनाउँदा पुनः संक्रमणको जोखिम बढ्ने देखिएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल भने परीक्षणलाई बढाएर स्वास्थ्य मापदण्ड कडाइ गरिएको बताउनुहुन्छ । निषेधाज्ञा खुकुलो भएसँगै पसल, होटल तथा जिल्लाभित्र सञ्चालन हुने गरी सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् ।
मानिसहरूको दैनिकजसो बाक्लो जमघट हुने यस्ता स्थानमा मानिसको आवातजावत बढ्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण समुदायस्तरमा फैलिन नदिन परीक्षणको दायरालाई व्यापक बनाउँदै स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्ने स्वास्थ्य कार्याल प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्का बताउनुहुन्छ ।
जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो भने प्यूठानमा कोरोना संक्रमणको जोखिम कायमै छ ।
समुदायस्तरमा संक्रमण फैलिन नदिन स्वास्थ्य सावधानी अपनाउँदै सचेत बन्न आवश्यक छ । तर, हतारमा निषेधाज्ञा खुकुलो बनाउँदा र स्वास्थ्य मापदण्ड नअपनाउँदा पुनः संक्रमण नबढ्ला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्