
ध्रुवसागर शर्मा
म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधबार बिहानैदेखि अवरुद्ध भएका छन् ।
गएरातिको भिषण वर्षाले म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।
पहिरोले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको छ । सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलाउने प्रयास भैरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।
गएराति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्