
पर्वत । कुश्मा नगरपालिकास्थित सुन्दरेखोलामा आएको बाढीले क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु भएको छ ।
केहि बेर अघिदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो ।
मध्यपहाडीसँगै क्षतविक्षत भएको दोबिल्ला–फलेबास सडक खण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुंगा रहेको र ती ढुंगा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकोले अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काका अनुसार भत्किएको राजमार्गको कुनापट्टिबाट अस्थायी ट्रयाक खनेर राजमार्ग खुलाइएको हो ।
‘हिजो रातिदेखिका सवारी बन्द भएकोले एकतर्फी खुलाएर वारपार गर्न दिइएको हो,’ खड्काले भन्नुभयो, ‘दुइतर्फी खुलाउन अझै समय लाग्छ ।’
खोलाले ल्याएका ठुल्ठूला ढुंगा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
‘गाडी एकतर्फी भए पनि चलाइयो,’ आयोजनाका सूचना अधिकारी उज्जल शर्माले भन्नुभयो, ‘बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।’
प्रतिक्रिया दिनुहोस्