
काठमाडौं । ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता साउन २३ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिग साउन २३ गतेबाट पोखरामा सुरु हुने जनाएको छ ।
यसअघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो । कोरोनाले स्थगित हुनु अघि लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुने तालिका रहेको थियो । लिगका लागि एन्फाले टिमहरुको छनोट गरिसकेको छ ।
लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ । उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्