
एजेन्सी । अमेरिकी सेना फिर्ता हुने क्रम बढेसँगै अफगानिस्तानमा तालिवानीहरुले सशस्त्र गतिविधि तीव्र पारेका छन् ।
पश्चिमी अफगानिस्तानको मुख्य शहरमा तालिवानी लडाकूहरु प्रवेश गरेलगत्तै सरकारी अधिकारीहरु सैन्य शिविरमा सारिएको छ । तर सरकारी अधिकारीहरुले भने अफगान सेनाले विद्रोही लडाकूविरुद्धको कारवाही जारी राखेको जनाएको छ ।
अफगास्तिानमा रहेका अमेरिकी सेना सेप्टेम्बर ११ अघि नै फिर्ता हुने यसअघिको निर्णयसँगै तालिवानीहरुले सरकारसँग वार्ता पनि थालेका छन् । पछिल्ला २ महिनायता वार्ता जारी रहेपनि उनीहरुका सशस्त्र गतिविधि पनि समानान्तर रुपमा सञ्चालन भएसँगै अफगान सरकारले विद्रोहीका कैदीबन्दी रिहा गरेको छैन ।
अझै पनि विभिन्न कारागारमा करिब चार हजार कैदीबन्दी रहेको बताइएको छ । तालिवानीहरुका सशस्त्र गतिविधि बढेसँगै सर्वसाधारण भने त्रसित भएको बताइएको छ ।
यता तालिवानीहरुले पछिल्ला हप्तामा दर्जनौं जिल्ला कब्जामा लिएको दावी गरेका छन् । उनीहरुले देशको एक तिहाई भाग मात्र आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्