
काभ्रे । रोपेको १५ दिनमै डढुवा लागेर धान मर्न थालेपछि पनौतीका किसान चिन्तित भएका छन् ।
खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ ।
कहिले पानी समयमा नपर्ने, कहिले बिउ नपाउने त कहिले मल समयमा नपाउने समस्याबाट पीडित कृषक यो पटक भने लगाएको धान नै मर्न थालेपछि थप चिन्तित भएका हुन् । केही समय अघिसम्म हाइब्रिड धानमा मात्र देखिएको रोग अहिले स्थानीय जातको धानमा समेत देखिएको कृषकहरू बताउँछन् ।
धानको नमुना संकलन गरेर पठाइएको र रिपोर्ट आएपछि थप कदम अघि बढाउने पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो । कृषि ज्ञान केन्द्र काभ्रेका बाली संरक्षण अधिकृत रामचन्द्र भट्राईका अनुसार जिल्लामा अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ ।
यसपटक गत वर्ष भन्दा बढी रोपाइँ हुने अनुमान पनि गरिएको छ । तर, धान बालीमा देखिएको रोग किराको समस्या तत्कालै समाधान नगर्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने किसानको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्