२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुर जिल्ला अदालतलाई पाँच वर्षभित्र पूर्ण डिजिटाइज गरिने


0
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने भएको छ ।

बिहीबार ललितपुर जिल्ला अदालतमा आयोजित कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज गरिने बताउनुभयो ।

स्रेस्तेदार पाण्डेले अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलमध्ये ६६ हजार ६ सय ६३ थान सफ्टवेयरमा इन्ट्री गराइसकिएको, दर्ता रहेका मिसिल कागजातमध्ये ५३ हजार २ सय ६९ थान धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिललाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिनुभयो ।

अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्दा मध्ये ९ सय ६६ फर्छ्यौट भएको र ८ सय ८९ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । चालु आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्दामध्ये ६ सय ४० फर्छ्यौट भएका र १ हजार ३ सय ६१ फर्छ्यौट हुन बाँकी रहेको पाण्डेले जानकारी दिनुभयो ।

अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्दामध्ये १ हजार ६ सय ६ वटा फर्छ्यौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिनुभयो । फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताउनुभयो ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्दाको मिलापत्र गराउने कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्दा मेलमिलापमा पठाइएकोमा १ सय ८ थान मेलमिलाप हुन सकेको स्रेस्तेदार पाण्डेले बताउनुभयो ।