
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले २३ जिल्लाको सदस्यता सम्बन्धी विवाद निरुपण गर्न बाँकी रहेको जनाएको छ ।
समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ ।
समितिले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अझै ७५ निर्वाचन क्षेत्रमा देखिएको विवाद समाधान गर्ने काम जारी रहेको जनाएको छ । असार २० गते क्रियाशील सदस्यता सम्बन्धी छानविन सम्पन्न गरेर पार्टी सभापतिलाई बुझाउने कार्यतालिका भए पनि त्यो सम्भव भएन ।
असार मसान्तसम्म सबै जिल्लाको समस्या समाधान गरेर अन्तिम सूची बुझाउने समितका प्रवक्ता पौडेलको भनाइ छ । समितिमा समाधान हुन नसकेको स्थानको विवादलाई पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा लैजाने कार्यविधि बनाइएको छ । त्यहाँ पनि सहमति जुट्न नसकेको अवस्थामा विवादित स्थानका सदस्यहरूलाई महाधिवेशनमा सहभागी नगराइने उहाँको भनाइ छ ।
करिब १० लाख क्रियाशील सदस्यता पु¥याएर महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसमा नयाँ र पूराना गरेर ८ लाख ५० हजार सदस्य इन्ट्री भएका छन् । जसमा करिब ५० हजारले सदस्यता नविकरण नगरेको बताइएको छ भने केही जनसम्पर्क समितिले पनि सफ्टवेयर इन्ट्री गर्न बाँकी छ । इन्ट्री भएको सदस्यता मध्ये १८ देखि ४० वर्ष उमेर समूहको उपस्थिति ४५ प्रतिशत रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्