१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामारी नियन्त्रणका लागि स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव


0
Shares

काठमाडौं । विज्ञहरूले महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् ।

छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड–१९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दै सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण, रोकथाम र उपचार गर्न नसक्ने प्रमाणित गरेको बताउनुभयो । महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको उल्लेद गर्दै उहाँले मन्त्रालय भित्रको पुरानै प्रशासनिक तौरतरिकाले राम्रा कामले पनि निरन्तरता पाउन नसकेको बताउनुभयो ।

कार्कीले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतनको आवश्यकता औँल्याउनुभयो । उहाँँले महामारीलाई सम्बोधन गर्न विकसित मुलुकहरूले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन भनि छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिँदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराउनुभयो ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भेरोसेल खोप चाइनामा ७९ प्रतिशत प्रभावकारी रहेको खोज अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारिता माथि शंका नगर्न आग्रह गर्नुभयो । उहाँ कडा प्रयोग र परीक्षण पछि मात्रै आउने भएकाले खोपहरूमाथि कुनै शंका गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो ।

डा. पुनले कोभिड–१९ बारे विश्व नै अनविज्ञ भएकाले सुरुवाती समयमा निकै समस्या परे पनि अब भने सहज हुँदै गएको बताउनुभयो । कुनै उमेर समूहलाई कोभिड नलाग्ने भन्ने भ्रममा नपर्न अनुरोध गर्दै उहाँले खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

छलफलमा समिति सदस्यहरूले कोभिड–१९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव लगायतका विज्ञहरूसँग जिज्ञासा राखेका थिए ।