
काठमाडौं । पूर्व माओवादी नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले)का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताउनुभएको हो ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा माओवादीले नाममात्रको महाधिवेशन गरेको टिप्पणी गर्नुभयो । विगत ३३ वर्षदेखि विचार, विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो “गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔं पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधिविना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ ।’
रायमाझीले शान्ति प्रक्रियामा आएपछि व्यभिचारी, व्यक्तिवादी र निरंकुश तरिकाले सञ्चालन गरिएकाले पार्टी कमजोर भएको टिप्पणी गर्नुभयो । विचार, विधि, कार्यशैली र चिन्तनमा ध्यान नगएकाले पार्टी तुइँदै गएकाले नेतृत्वले उसको जिम्मा लिनुपर्ने उहाँको भनाइ थियो ।
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरू संघर्ष गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्