१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्च अदालतको फैसला ऐतिहासिक र महत्वपूर्ण भएकाे विपक्षी गठबन्धनकाे भनाइ, कुन नेताले के भने ?


0
Shares

काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवास नजिकमा बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै स्वागत गरेको हाे । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।

बैठकपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्‍याउनेलाई धन्यवाद पनि दिएको बताउनुभयो । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्नेबारे छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्रयाक बाहिर गएको, लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ ।’

सरकार निर्माण सन्दर्भमा दलहरूबीच प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने तथा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजानेमा आफूहरू एक रहेको खाँडले बताउनुभयो । ‘मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलफल भएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा जाने हकमा सानो आकारको मन्त्रीमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानको मार्गचित्रअनुसार अघि बढ्नेबारेमा छलफल भएको बताउनुभयो । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको बताउनुभयो । सरकार गठन एकलौटी ढङ्गले नचलाई सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढङ्गले सरकार बनाएर एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताउनुभयो ।

नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएकाले परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिनुभयो । एकलौटी र एकपक्षीय ढङ्गले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढङ्गले नचल्न आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरुसंग सरसल्लाह गरेर, उनीहरुलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको रक्षाका लागि दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ ।’

पन्तले गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने उल्लेख गर्दै पहिला पार्टीलाई र त्यसपछि सिंगो मुलुकको राजनीतिलार्ई एकताबद्ध बनाउने बताउनुभयो । ‘गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन, हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेलसम्मका लागि मात्रै हो,’ उहाँले भन्नुभयो, ‘अब पार्टीले जे भन्छ त्यहि गर्छाैं, सिंगो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो ।’

जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताउनुभयो । उहाँले देउवाको नेतृत्वमा सरकार बनाउन लागिपर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्नेबारे गठबन्धनमा छलफल भएको बताउनुभयो ।