१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनर्निर्माणको पर्खाइमा……


0
Shares

उपेन्द्र खनाल

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर खण्डहर बन्दै जाँदा संरक्षणमा कसैले चासो देखाएका छैनन् । ऐतिहासिक धरोहर आदिकवि आचार्यको भग्नावसेसको अवस्थामा रहेको घर लामो समय बितिसक्दासमेत पुनर्निर्माण भएको छैन, जसले गर्दा साहित्यिक पर्यटकहरु समेत निरास बनेका छन् ।

कुनै समयमा साहित्यकारहरुको निकै जमघट हुने यो ठाउँ पछिल्लो समय भने सुनसान बनेको छ । राष्ट्रिय विभुतिको स्वदेश तथा विदेशमा समेत चर्चा छ । तर जन्मस्थल भने उपेक्षित भएको छ ।

पुननिर्माणमा चासो नदेखाउँदा आचार्यको घर जीर्ण बन्दै गएको छ । आदिकविको घर निर्माण गर्न विभिन्न सघसंस्थाले पहल थाल्ने बताएको भएपनि अहिलेसम्म घर निर्माण हुन सकेको छैन । जंगलको बीच भागमा रहेको आचार्यको घर पुग्ने सडक राम्रो छैन । जिल्लाका ठुला व्यक्तिहरुले पनि कुनै चासाे नदिएकाे हृदयराज आचार्यकाे भनाई छ । सबै आफ्नाे स्वार्थमा लागेर स‌रक्षणमा नलागेकाे उहाँकाे आराेप छ ।

प्रत्येक वर्ष भानु जयन्तीको दिन मात्रै सम्झिने प्रवृत्तिले त्यस क्षेत्रका स्थानीयसमेत निरास छन् । भानुको विकासका लागि पहलमा राज्यले पनि त्यति चासो नदेखाएको उनीहरुको गुनासो छ । भानु जन्मस्थलको विकास हुन नसक्नु प्रमुख कारण राजनीतिकरण भएको उनीहरुको बुझाइ छ । राजनीतिक चलखेलका कारण ओझेलमा परेकाे मधुकला आचार्य बताउँनुहुन्छ ।

भानु जन्मस्थलमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण गर्न र आचार्यको भग्नावशेष अवस्थामा रहेको घरको पुनर्निर्माण गर्नसके स्वदेश तथा विदेसबाट समेत धेरै भन्दा धेरै साहित्यिक पर्यटकहरु भित्र्याउन सकिने बिस्वास गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मघर निर्माणको शिलन्याश गरेको चार वर्ष बितिसक्दासमेत निर्माणमा कसैले तदरुकता देखाएका छैनन् । जसले गर्दा राष्टिय विभुतिको खिल्ली उडेको भान हुने पूर्व कार्यकारी निर्देषक शंकर रानाभाट बताउँनुहुन्छ ।

ऐतिहासिक धरोहर आदिकवि भानुभक्त आचार्यको खण्डहर बनेको घरको पुनर्निमाणमा राज्यले चासो नदेखाउँदा स्रष्टाको अवमूल्यन भएको छ । त्यसैले यस्ता साहित्यिक पर्यटकको पहिचान जोगाउन त्यस क्षेत्रको विकासमा सबैले पहल गर्न जरुरी छ ।