
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेसंगै देउवा पाँचौ पटक मुलुकको कार्यकारी प्रमुख बन्नुभएको हो ।
कांग्रेस सभापति समेत रहनु भएका देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राममा भएको हो । गाउँकै असीग्राम प्राविबाट प्राथमिक र सीताराम मावि डोटीबाट माध्यामिक शिक्षा लिनुभएका देउवा स्कुले जिवनदेखि नै कांग्रेस राजनीतिमा संलग्न हुनुभएको थियो ।
वि.सं. २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा प्रवेश गरेसँगै देउवाको औपचारिक राजनीतिक सक्रियता सुरु भएको थियो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय भएर काम गर्नुभएका देउवा वि.सं.२०२८ सालमा सोही संगठनको अध्यक्ष बन्नुभयो । विद्यार्थी राजनीतिबाटै आफूलाई प्रमाणित गर्नुभएका देउवालाई वीपी कोइरालाले सुदुरपश्चिममा पार्टीको जिम्मेवारी दिनुभयो ।
पञ्चायती व्यवस्थाको पतनपछि २०४७ सालमा भएको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०४८ सालमा गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभयो । २०५२ भदौ २७ गते ४९ वर्षको उमेरमा देउवा पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल हुनुभयो । एकपछि अर्को सफलताको सिढी चढ्न सफल हुनुभएका देउवालाई पार्टीभित्रको संघर्षमा संस्थापक नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको सहयोग थियो ।
माओवादी द्वन्द्वको चरमोत्कर्षका बीच तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५८ साल असारमा पदबाट राजीनामा दिएपछि देउवा संसदीय दलको नेता बन्दै २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । तर, कांग्रेसको आन्तरिक कलह र माओवादी द्वन्द्वको मुकाविला कसरी गर्ने भन्ने विवाद बढेपछि २०५९ साल असोज ८ गते प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्नुभयो ।
प्रतिनिधिसभा विघटनसँगै नेपाली कांग्रेस विभाजन भयो । समयसीमाभित्र चुनाव गर्न नसकेपछि तत्कालिन राजा ज्ञानेन्द्रले देउवालाई पदबाट बर्खास्त गर्नुभयो । राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
तर, माओवादी हिंसा झन चर्किने र चुनाव पनि गराउन नसकेको अवस्थामा तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई दोस्रो पटक प्रधानमन्त्रीबाट हटाएर र शासनसत्ताको बागडोर आफ्नै हातमा लिनुभयो । शाही ‘कू’ पछि मुलुकको राजनीतिमा कमजोर बन्दै गएका देउवा २०७० सालको दोस्रो संविधानसभाको चुनावपछि भने पुनः पकड जमाउँन सुरु गर्नुभयो ।
राजनीतिक जिवनमा निकै उतारचढाव खेप्नुभएका देउवा सत्तरी वर्षको उमेरमा वि.स.२०७२ सालमा सम्पन्न पार्टीको तेह्रांै महाधिवेशनमा कांग्रेसमा कोइरालाहरूको विरासत तोड्दै कांग्रेस सभापति बन्न सफल हुनुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी ९ वर्षभन्दा बढी जेल जीवन बिताउनुभएका देउवा २०७४ सालको जेठ २४ मा माओवादीको सहयोगमा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो ।
२०७४ सालको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेका देउवा अहिले फेरि उनै ओलीलाई विस्थापित गर्दै पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको छ । राजनीतिसँगै भाग्यमा पनि उत्तिकै विश्वास गर्ने देउवालाई ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्