६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नारामै सीमित विकासका एजेण्डा


0
Shares

सुरेन्द्र भण्डारी

झापा । स्थानीय तह सञ्चालनको चार वर्ष बितिसकेको छ । दिगो विकासको अवधारणा अनरूप समावेसी शासन प्रणालीलाई स्थानीय तहदेखि नै स्थानीय शासन पद्धतिलाई सदृढ गरी स्थानीय तहमा कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालनका लागि चार बर्ष अघि स्थानीय तहको निर्वाचन भएको थियो ।

निर्वाचन ताका सबै जनप्रतिनिधिले आ– आफ्ना ठाउँको विकास र समृद्धिको नारा लिएर चुनावमा होमिएका थिए । बिर्तामोड नगरपालिका ३ का वडाध्इक्ष भोजराज सिटौलाले आफूले अघि सारेका एजेण्डा पूरा गर्न नसकेको स्वीकार्नुभयो ।

झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधिले आफुले अघि सारेका कुनै पनि एजेण्डा अहिले पूरा गर्न सकेका छैनन् । चुनावताका दलगत रुपमा अघि सारिएका घोषणा पत्रमा सबैले आ– आफ्नो ठाउँको विकास गर्ने दावी सहित मत माग्दै हरेक मतदाताको घर घरमा पुगेका थिए । तर, चुनाव पछि स्थानीय तहका जनप्रतिनिधिले अघि सारेको घोषणा पत्र अनुसारको काम गर्न नसकेको स्थानीय लक्ष्मी आर्चायको भनाई छ ।

यहाँका उम्मेद्वारले बिर्तामोडमा कृषि थौक वजारलाई उचित व्यवस्थापन, फोहोर मैलालाई प्रशोधन गर्दै प्राङ्गरिक मल उत्पादन, बिर्तामोडलाई नमूना सहर, प्लाष्टिक मुक्त नगर, हरित नगर जस्ता योजना अघि सारेका थिए । बाह्रदशी गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष भुपेन्द्र कटुवालले पनि शिक्षा क्षेत्रको आमूल परिर्वतन गर्न खोजेपनि काम गर्न नसक्दा आत्माग्लानी लागेको बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन पछि गाउँ – गाउँमा सिंह दरवार आउला भन्ने धेरैको अपेक्षा थियो । तर, आफैंले चुनेका जनप्रतिनिधिले विभिन्न कारण देखाउँदै आफ्नै ठाउँको विकास गर्न नसक्दा स्थानीयवासी निरास देखिन्छन् । त्यसैले बिगतको पाठलाई मध्यनजर गर्दे स्थानीय जनप्रतिनिधि जनताको सेवा र स्थानीय विकासमा तदरुकताकासाथ लाग्नु पर्ने देखिन्छ ।