१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक आज पनि अवरुद्ध


0
Shares

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज(बुधबार) पनि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको आरोप एमालेले लगाएको छ ।

स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको हो । बजेट छैन भन्ने तर, १ लाख देखि ३० लाख रुपैयाँ सम्मका ६ सय ३० योजना थप्ने काम गरेकाले संसद् अवरुद्ध गर्नुपरेको एमाले सांसद रामशरण बस्नेतले बताउनुभयो ।


म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको र न्यायोचित वितरणमा ध्यान दिनुपर्ने बस्नेतको भनाइ थियो । उहाँले रातो किताब सच्याउन पर्ने माग गर्नुभयो । कालो कोठामा बसेर षडयन्त्रपूर्ण रूपमा ल्याइएको बजेटलाई स्वीकार गर्न नसक्ने प्रतिपक्षी दलको भनाइ छ ।मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नपाएसम्म सदन चल्न नदिने भन्दै मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण गराएको थियो । प्रतिपक्षी एमालेले पछिल्लो समय बसेको संसद् बैठक अवरुद्ध र बहिस्कार गर्दै आएको छ ।