
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ ।
अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, महादेव यादव, कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र लिलामणि पौडेलले बहस गरिरहेका छन् ।
यसअघि अदालतले पटक–पटब बोलाउँदा पनि उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचीमा राखिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ललिता निवास जग्गा प्रकरणमा गत २२ माघमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारविरुद्ध ९ करोड ६५ लाख विगो जरिवाना माग गरिएको छ ।
१ सय ७५ जनामध्ये १ सय ३३ जना अदालतमा उपस्थित भएका छन् भने बाँकी ४२ जनाको नाम फरार अभियुक्तको सूचीमा राखिएको छ । मुद्दाका अभियुक्तहरूमध्ये पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पाँच लाख धरौटी तथा कृष्ण पौडेल दुई लाख धरौटीमा रिहा भएका छन् । मुख्य अभियुक्त शोभाकान्त ढकालको मुद्दामा न्यायाधीशहरूबीच नै रायबाझी भएकाले उनी थुनामै रहेका छन् ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको १ सय १४ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरु मध्ये शोभाकान्त ढकालबाट सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको विगो र जरिवाना माग गरिएको छ । १ सय १० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ ।
यही प्रकरणमा एमाले नेता विष्णु पौडेललाई उन्मुक्ती दिएको भन्दै केपी ओली सरकारको चर्को आलोचना समेत भएको थियो ।
यो पनि पढ्नुहोस्
फरार अभियुक्त विजयकुमार गच्छदार अदालतमा उपस्थित
प्रतिक्रिया दिनुहोस्