१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीको सुदूरपश्चिम राजनीति : पहाडी जिल्ला उपेक्षित, कैलाली-कञ्चनपुर संरक्षित


0
Shares

काठमाडौं । मत्यु या मुक्तिको नारा लिएर जंगल पसेको माओवादीलाई युद्धकालमा पश्चिमका पहाडले नै सत्तामा पुर्‍याउन योगदान पुर्‍याएका हुन् ।

तर, दश वर्षे जनयुद्ध लडेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पनि १९ वर्ष पुग्न लाग्यो । लगभग दुई दशक नै माओवादी सत्ता वरपर रह्यो तर आधार क्षेत्र सुदूरका पहाडलाई माओवादीले चटक्कै माया मारेको छ, उपेक्षा गरेको छ ।

युद्धको भट्टीबाट खारिएर आएका धेरै नेतृत्वहरू सुदूरका पहाडमा छन् । तर, पछिल्लो समयको राजनीति सीमित व्यक्ति र शहरकेन्द्रीत भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजर त्यहाँ पुग्दैन । माओवादीभित्र व्यक्तिवादी चरित्र हावी भएको र त्यस्ता व्यक्ति शहरलाई मात्र पोस्न लागिरहेका साहित्यकार निभा शाहको आरोप छ ।

अहिले एमाले प्रवेश गरेका तत्कालीन उद्योगमन्त्री कैलालवासी लेखराज भट्ट सदाबहार सुदूरपश्चिमका इञ्चार्ज रहँदै पटक–पटक मन्त्री भए । यसैगरी भट्टकै सिफारिसमा कञ्चनपुरबाट बिना मगर र कैलालीकै गौरीशंकर चौधरी पनि एक–एकपटक मन्त्री बने ।

माओवादीको राजनीति कैलाली र कञ्चनपुरबाट उकाले चढ्न नसक्दा युद्धबाट उदाएका नेताहरू अझै ओझेलमा परेका छन् । द्वन्द्वकालका जुन पहाडले संरक्षण गर्यो, अहिले त्यसैलाई माओवादी नेतृत्वले प्रताडित गरेको स्थानीयको गुनासो छ ।

अझ बढी महिला र सीमान्तकृत वर्ग सांसद्समेत बन्न पाएका छैनन् । एमाले–माओवादी मिलेर संयुक्त घोषणापत्र जारी गर्दै चुनाव लड्दा माओवादीबाट समानुपातिकतर्फ १९ जना सांसद् बने । त्यसमा पनि महिला र सीमान्तकृत नेताहरूलाई पदमा ल्याउन पहुँच, आसेपासे र प्रेमी–प्रेमिकालाई मात्र स्थान दिइएको साहित्यकार शाहको आरोप छ ।

महिला झन् बढी प्रताडित
माओवादीको नारा नै समानुपातिक राज्यसत्ता बनाउनु थियो । युद्धकालमा उनीहरूको बोलीवचनले सर्वसाधारणको ध्यान खिचेको थियो । झण्डै १७ हजारले समानुपातिक राज्य प्रणाली स्थापनाको आशमा ज्यान गुमाए पनि शान्ति प्रक्रियापछि ठ्याक्कै उल्टो भयो ।

सीमान्तकृत समुदायलाई माओवादीले उपेक्षा गरिरह्यो । परिवारवाद हाबी भयो । नेतृत्वमा शीर्ष भनिएका नेता, उनका आफन्त र परिवारबाहेक अरूले स्थान पाउन सकेनन् । नजिता माओवादी छिन्न–भिन्न भयो । युद्धकालमा जसरी समानुपातिक अवधारणाको चर्का भाषण गर्ने प्रचण्ड अहिले त्यसबाट मुखरित भएको साहित्यकार शाह बताउँछिन् ।

युद्धबाट राजनीतिमा उदाएका महिलाहरूलाई तत्कालीन सुदूरपश्चिम इन्चार्ज भट्टले नै राजनीतिको मुलधारमा आउन नदिएको उपेक्षामा परेको नेताहरूको भनाइ छ । भट्टको पेलानको धेरै सामना गर्नेमध्येकी एक नेतृ रेणु चन्द पनि हुन् । प्रवासबाटै राजनीति सुरु गरेकी उनी २०५६ को मध्यबाट नेपाल फर्किएर युद्धमा होमिइन् ।

त्यसबीचमा अखिल क्रान्तिकारी महिला संघको जिल्ला अध्यक्ष, ब्यूरो संयोजक र इञ्चार्ज हुँदै केन्द्रीय सदस्यको समेत जिम्मेवारी बहन गरिन् । पहिलो संविधानसभामा बैतडी क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि भट्टससँग चन्दको अन्तर्विरोध सुरु भएको थियो ।

माओवादी स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय तारामान स्वाँरसमेत भट्टबाट पटक–पटक प्रताडित हुँदै आएका छन् । जीवन नै माओवादी राजनीतिमा बिताउँदा पनि योगदानभन्दा बढी भट्टको पेलानको सामना गर्नुपरेको स्वाँरनिक स्रोतको दाबी छ ।