१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदबाट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो।

हिजोको प्रदेशसभा बैठकमा बजेटमाथि प्रदेशसभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट निर्णयार्थ पेस गर्ने समयमा बहुमत नपुग्ने देखिएपछि सत्तापक्षका सांसदहरु सदन छाडेर निस्किएका थिए ।

लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो ।

तर विपक्षमा रहेका दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा रहेका सबै मन्त्रीलाई बाहिर निस्कन संकेत गर्दै आफू पनि बाहिरिनु भएको थियो ।

सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यरातमा अन्त्य गरिएको थियो । उता, कर्णाली प्रदेश सरकारले पनि बिहीबार अध्यादेशबाट ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशसभा बैठक प्रतिपक्षी एमालेले लगातार अवरोध गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

असार १ गते प्रदेशसभामा बजेट सार्वजनिक गरेको कर्णाली सरकारले एक महिनाभित्र निरन्तर १० पटकसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि अध्यादेशबाट बजेट ल्याएको हो । प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो ।