
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । अध्यक्ष केपी ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक स्थायी कमिटी बैठक बसेको हो ।
शुक्रबारको बैठकमा प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुनेछ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । यद्यपि एकता कार्यदलका सदस्यहरू भने भर्खरै पुगेका छन् । उनीहरू बैठक स्थगित गर्दै सहमतिका साथ अघि बढ्न आग्रह गर्न आएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।
यस्तै, दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमालेको संसदीय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसद्मा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्