
पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान स्थगित भएको छ । महानगरले ५५ वर्ष माथिका नागरिकका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो ।
महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्यले जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम नचलाउने आदेश आएपछि खोप अभियान रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाको अभियान अन्तर्गत भेरोसेल खोप नै लगाउने भए पनि खोप सकिएकाले समस्या भएको हो ।
पोखराका १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहलाई खोप दिने तयारी गरिएको थियो । कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।
सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षक शिक्षिका, सार्वजनिक सवारीका चालक, सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्