१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भलिबल च्याम्पियनसिप खेल्न नपाएपछि निराश, प्रशिक्षणमा बसेका खेलाडी घर फर्किए


0
Shares

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएपछि महिना दिनदेखि तयारी गरिरहेका नेपाली खेलाडी निराश भएका छन् ।

पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिकाले स्तब्ध बनायो ।

आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाइरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।

अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन् । ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने कप्तान शाहीको विश्वास छ ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदैछ । नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो ।

तर, अन्तिम समयमा आएर नेपाल प्रतियोगिताभन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागी हुने राम्रो अवसर गुमेको हो । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र खेल्नेछन् ।

प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

कोभिडका कारण झण्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितालाई एसियन च्याम्पियनसिपबाट ढोका खोल्ने नेपालको लक्ष्य अधुरै बनेको छ । नेपालले सहभागिता नजनाउने भएपछि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरूलाई भलिबल संघले आजै घर पठाएको छ ।