
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कारबाही गर्न पार्टी अनुशासन समितिाई निर्देशन दिएको छ ।
शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरूलाई २४ घण्टा भित्र स्पष्टिकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासन विपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।
बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । नेपाली कांग्रेसको आगामी भाद्र १६–१९ गते हुने १४ औं महाधिवेशन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्