
काठमाडौ । सरकारले निवर्तमान प्रधानमन्त्री केपी ओलीको पालामा सिफारिस गरिएका ११ मुलुकको राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बसेको ५ सदस्यीय मन्त्रिपरिषद्ले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो ।
केपी ओली सरकारले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधरलाई राजदूत ताेकेकाे थियाे ।
त्यसैगरि, रुसका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकेको थियो ।
बहराइनका लागि राजदूतमा सिफारिस गरिएका पूर्वमन्त्री कार्कीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा पनि परेको थियो । सर्वोच्चले कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्