६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी


0
Shares

राजेश जीसी
प्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।

झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् ।

प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र नौबहिनी गाउँपालिकाको ६ लगायतका स्थान जोड्ने ढाडा स्यालीघारी पुलको निर्माण थालेको करिब ५ बर्षपछि सम्पन्न भएको छ ।

लामो समयसम्म पुल निर्माण नहुदा जोखिम मोलेर झिमरुक खोला तर्दै आएका स्थानीयबासीलाई राहत मिलेको छ । खोलामा पुल नहुदाँ अहिलेसम्म ६ जनाभन्दा धेरैले ज्यान गुमाईसकेका छन् ।

१८ महिनामा सम्पन्न गर्ने गरी निलगिरी आशु जेभि र सडक पूर्वाधार बिकास कार्यालय रोल्पाबीच २०७२ साल असोजमा सम्झौता भएको थियो । तर निर्माण स्थलमा पिलर राख्ने ठाउँमा ओपन फाउन्डेशन नमिलेको भन्दै रि डिजाइन गर्न माग गर्दै कम्पनीले निर्माणको काम रोकेको थियो ।

तर पछि निर्माण व्यवसायी, प्रदेश सरकार र सडक पुल कार्यक्रम एलआरबिपीबीच वुटवलमा भएको छलफलपछि पुनःपुलनिर्माणको काम अगाडी बढाएको थियो ।

अहिले पुल निर्माण सम्पन्न भएपछि झिमरुक गाउँपालिकाका जनतालाई मात्र नभइ गौमुखी र नौबहिनी गाउँपालिकाका जनतालाई जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

झिमरुक नदीमा पुल निर्माण भएसगै बाह्रै महिना यातायात सञ्चालन गर्न सक्ने तथा बिरामी पर्दा समयमै अस्पताल पुग्न सकिने स्थानीयवासी बताउँछन् ।

बिगत लामो समयदेखि अलपत्र परेको पुल निर्माणसगै स्थानीयबासीले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने अबस्थाको अन्त्य भएको छ भने स्थानीयबासीले उत्पादन गरेको कृषि उपजले बजार पाउनेछ ।

जसले गर्दा स्थानीयको आयस्रोतमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।