१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्यपहाडी लोकमार्गले निसीखोलाको भाग्य खुल्यो


0
Shares

डम्मर बुढा मगर
बागलुङ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै बागलुङको निसीखोलाको भाग्य पनि खुलेको छ । सधै दुर्गमको पीडा भोग्नु परेको निसीखोलामा अहिले पूर्वाधारको विकास हुँदा स्थानीय खुशी भएका छन् ।

बागलुङ सदरमुकामदेखि सबै भन्दा दुरमा रहेको गाउँ हो निसी । निसी भन्ने बित्तिकै अझै पनि धेरैको त्यही दुर्गम ठाउँ भनेर बुझ्ने गरेका छन् । तर, अहिले निसीको परिचय बदलीएको छ ।

मगर र दलित समुदायको बाक्लो बस्ती रहेको निसीखोला क्षेत्रमा मध्यपहाडी लोकमार्ग सँगै विकास र अवसरको ढोका खुलेको छ । लोकमार्गले जोडिएपछि शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारहरु शुरु भएका छन् ।

आज भन्दा ५ वर्ष अगाडि सम्म निसी, भल्कोटका नागरिकहरु विकासको पहुँचबाट निकै टाढा थिए । भौगोलिक बनावटले मिलेको ठाउँ भए पनि राज्यको नजर नपुग्दा निसीले दुुर्गमकै पीडा भोग्न बिबश थियो । तर, अहिले त्यस्तो छैन । निसीखोला गाउँपालिका वडा नम्बर ६ सीपका शेरबहादुर घर्ती मगरले सडकले गाउँमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।

अहिले धमाधम यस क्षेत्रमा ठूल–ठूला घरहरु ठडिन थालेका छन् । लोकमार्गले जोडिएपछि यहाँका कुनै पनि गाउँहरुले अब दुर्गम गाउँ भनेर परिचय दिनु पर्ने छैन् ।

पूर्वमा ढोरपाटन नगरपालिका र पश्चिममा पूर्वी रुकुमको भूमे गाउँपालिकासँग जोडिएको निसीखोला भित्रका आधा दर्जन बढी स्थानमा बजार बन्न थालेको छ ।

वडा नम्बर १ को देविस्थान बजार, वडा नम्बर २ को जुग्जाखोला, वडा नम्बर ३ को ढुँवाखोर, वडा नम्बर ४ को झिवाखोला, कानाबजार, वडा नम्बर ५ को बडावनखोला, निसी र वडा नम्बर ६ को भल्कोट र सिप लगायतका ठाउँहरुले बजारको स्वरुप लिन थालेका छन् ।

यस क्षेत्रमा पर्ने लोकमार्गको अधिकांश क्षेत्र कालोपत्रे भइसकेको छ । सडक कालोपत्रे भएपछि नागरिकलाई सहज भएको स्थानीय सरोज बगालेको भनाई छ ।

गाउँ सडकले नजोडिँदा स्थानीयले ठूलो समस्या भोग्दै आएकोमा आधा दशकदेखि यहाँको दैनिकी फेरिदिएको छ । लोकमार्गले गाउँमा विकासको ढोका खोल्यो तर विकासका लागि स्थानीय पालिका जागरुक हुन जरुरी देखिन्छ ।