३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आज साउनको पहिलो सोमबार, पशुपतिनाथकाे मूलढाेकामा भक्तजनकाे भीड


0
Shares

काठमाडौं । आज साउने सोमबारको पहिलो दिन । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।

काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेको भएतापनि यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ ।

कोरोना त्रासलाइ वेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ । काठमाडौंकाे पशुपतिनाथ मन्दिर बन्द रहेता पनि भक्तजनहरु मन्दिरकाे मूल ढाेकामै बसेर शीवजीकाे पूजा आराधना गरिरहेका छन् ।

काेराेना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले मठमन्दिर खाेलेकाे छैन् । तर मन्दिरका मूलद्वारमा नै भक्तजनकाे घुँइचाे लागेकाे छ । स्वास्थ्य सामग्रीको प्रयोग गर्दै मन्दिरहरुमा शिवजीकाे दर्शन गरिरहेका छन् । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुईंचोले वातावरणमा चमक थपिएको छ ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

मूल गेटमा पूजा गर्दै भक्तजन

साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमवारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यहि महत्वलाई मानेर हिन्दू महिला सोमबारको ब्रत बस्ने पूजा गर्ने र साउन महिनाभर चोखो खाने गर्छन् ।

परापूर्वकालमा पार्वतीले शिवजी पति पाउँ भनी व्रत बसेको र पछि शिव भगवान्लाई पतिको रुपमा पाएकाले पनि साउनको सोमबारको महत्व बढेको भनिन्छ ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउनमा पाँच वटा सोमबार पर्नुलाई झन् शुभ मानिने पण्डितहरु बताउँछन् ।